• २७ भदौ २०८२, शुक्रबार

तनहुँ प्रशासन कार्यालय जलेपछि अस्थायी भवनबाट सेवा

blog

आन्दोलनका क्रममा जलेको जिल्ला प्रशासन कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, भदौ २७ गते ।
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला प्रशासन कार्यालय जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा पूर्ण रूपमा ध्वस्त भएपछि सेवा अब अस्थायी कार्यालयमार्फत सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जनताको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले तत्काल दमौलीकै सुरक्षित स्थानमा अस्थायी कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो ।

मङ्लबारदेखि चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा कार्यालयभित्र रहेका सम्पूर्ण कागजात, फर्निचर र प्राविधिक सामग्री जलेर नष्ट भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । “कार्यालय जलेर पूर्ण रूपमा प्रयोगयोग्य नभएकाले तत्कालै वैकल्पिक स्थानमा अस्थायी कार्यालय स्थापना गरी सेवा निरन्तर गर्ने व्यवस्था मिलाउन लागेका छौँं,” प्रजिअ अधिकारीले भन्नुभयो ।

मङ्लबार र बुधबार आन्दोलन चर्किदा जिल्लास्थित दर्जनौँ सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला कारागार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, उर्जा तथा जलस्रोत विकास डिभिजन कार्यालय, सरकारी वकिलको कार्यालय लगायतका संरचना ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै, व्यास नगरपालिकाको सवारी साधनमा आगजनी गरिएको छ भने व्यास नगरपालिका–१३ को वडा कार्यालय, शिक्षा तालिम केन्द्र तनहुँ, डिभिजनवन कार्यालय, आन्तरिक राजस्व कार्यालय, र विभिन्न प्राविधिक कार्यालय पनि आन्दोलनकारीको निशानामा परेका छन् । कार्यालयका महत्त्वपूर्ण कागजात तथा उपकरण जलेर नष्ट हुँदा जनसाधारणलाई सेवा लिन कठिनाइ भएको छ । अझै पनि भत्किएका पर्खाल, जलेका सामग्री र चिरिएका बोर्डहरूले उग्र आन्दोलनको स्मरण दिलाइरहेका छन् । आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमा आक्रमण गरेसँगै जनसाधारणले दैनिक पाउने प्रशासनिक र कानुनी सेवा तत्कालै अवरुद्ध भएको छ । नागरिकता, राहनी, जग्गा खरिदबिक्री जस्ता काममा बाधा पुगेको छ ।  

सम्भव भएसम्म आन्दोलनका क्रममा असर नपरेका सरकारी कार्यालयका कक्षहरू प्रयोग गर्ने र त्यो सम्भवन निजी भवन भाडामा लिएर अस्थायी रूपमा कार्यालय सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । “जनताको सहजतामाथि असर नपरोस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनअन्तर्गत भएको तोडफोड र आगजनीबाट सरकारी सम्पत्तिलाई अकल्पनीय क्षति पुगेको जिल्ला प्रशासनको प्रारम्भिक अनुमान छ । यद्यपि क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जनाइएको छ । सरकारी सेवाको पहुँच नटुटोस् भन्ने हेतुले स्थानान्तरण गरेर भए पनि कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । आन्दोलनका क्रममा क्षति पुगेका अन्य कार्यालयसमेत अस्थायी रूपमा सञ्चालनमा ल्याइने प्रक्रिया अघि बढाइएको प्रजिअ अधिकारीले बताउनुभयो । आन्दोलनको क्रममा प्रमुख जिल्ला अधिकारीको  निवास पनि आगजनीले ध्वस्त बनाएको छ ।