चितवन समाचारदाता
चितवन, भदौ २७ गते । चितवन जिल्लामा जारी कर्फ्युआदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै अवस्था सामान्य हुँदै गएकाले कर्फ्यु आदेश हटाइएको जानकारी दिनुभएको छ । कर्फ्यु हटाए पनि भेला, सम्मेलन, जुलुस तथा जमघट भएर कुनै कार्यक्रम नगर्न अनुरोध गरिएको छ । आन्दोलनबाट त्रसित भएको जिल्लाको अवस्था बिहीबारबाट सामान्यतर्फ फर्केको हो । भरतपुर, नारायणगढ, रत्ननगर, पर्सा बजारलगायतमा स्थानीय आफ्नो दैनिक काममा फर्किएका छन् ।
जिल्लाको मुख्य चोक तथा बजारमा नेपाली सेनाले सुरक्षा प्रदान गरिराखेको छ । बजार तथा सार्वजनिक सवारीसाधन पातलो रूपमा सञ्चालनमा आएका छन् । पश्चिम नेपालका बुटवल, भैरहवालगायतबाट राजधानी काठमाडौँ जाने सवारीसाधन नारायण हुँदै सञ्चालनमा आएका छन् । जिल्लाबाट बाहिरिने माइक्रोबस, केही बस र निजी सवारीसाधन सञ्चालनमा आएका छन् ।
भरतपुरको चौबिसकोठी, नारायणगढलगायतका स्थानका पसल सञ्चालनमा आएका छन् । स्थानीय रुटमा चल्ने केही सवारीसाधन पनि चलेका छन् । जिल्लामा विरोधका कुनै पनि गतिविधि भएको छैन । आपसी सद्भाव कायम गर्न पत्रकार महासङ्घ, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले अनुरोध गरिरहेका छन् । आपसी सद्भाव कायम गर्न, नेपालको संविधान अनुसार व्यवस्था सञ्चालन गर्न, जनताको अधिकार सुनिश्चित गर्न अनुरोध गरिएको छ । सद्भाव ¥याली निकाल्ने तयारी पापड चितवनले गरेको छ । मानव अधिकारकर्मी राजेन्द्र पौडेलले विद्यमान संविधानबाटै निकास खोज्नुपर्ने बताउनुभएको छ ।
आन्दोलनका क्रममा जिल्लाका सञ्चारगृहमा आक्रमण भएपछि प्रसारण बन्द भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनको टोलीले आन्दोलनकारीले तोडफोड गरेपछि बन्द भएको कालिका एफएमको अवस्थाका विषयमा बिहीबार अनुगमन गरेको छ । त्यसै गरी पत्रकारको घरमा भएको तोडफोड तथा आगजनीको विषयमा बिहीबार नै अध्ययन गरेको छ । समाचार सङ्कलनका क्रममा भएको धरपकड, आक्रमण, सहज रूपमा अझै पनि समाचार सङ्कलन गर्न जान सक्ने अवस्था नरहेको विषयमा सबै पक्षलाई आग्रह गर्दै शान्तिपूर्ण वातावरण सिर्जना गर्न नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले अनुरोध गर्नुभएको छ । सामान्य बन्दै मकवानपुर
मकवानपुर समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कफ्र्युको समयलाई घटाउँदै लगेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि यसअघि अनिश्चितकालका लागि जारी गरिएको निषेधाज्ञा तथा कफ्र्युको समय बिहीबारबाट घटाइएको हो ।
अर्को सूचना नभएसम्मका लागि जिल्लाभर बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ ।
यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि राति १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म हिँडडुल गर्न पाइने भएको छ । निषेधाज्ञा तथा कफ्र्युको समयमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारीसाधन चलाउन पाइने छ ।
विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ । साथै निषेधाज्ञा तथा कफ्र्युको समयमा एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने सूचनामा उल्लेख छ । हेटौँडा बजारक्षेत्रमा मङ्गलबार दिउँसो १ बजेबाट कफ्र्यु आदेश जारी भएको थियो । कफ्र्यु आदेश जारी भएपछि नै हेटौँडामा रहेको वडा कार्यालयदेखि प्रदेश सरकारका मन्त्रालयमा आगजनी र तोडफोड भएको थियो ।