हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), भदौ २७ गते । गत सोमबार र मङ्गलबार जेनजी प्रदर्शनका कारण देशभर भय र त्रासग्रस्तका कारण कर्फ्यु तथा निशेधाज्ञा जारी गरिएपछि मुस्ताङको अवस्था भने समान्य छ । जिल्लामा कर्फ्युको सूचना जारी गरिएको छैन । बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत सार्वजनिक सवारी साधन नचलेपनि नीजि सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । स्वदेशी तथा विदेशी पर्यटकको आवतजावत सामान्य छ ।
नेपालीको मुख्य पर्व दशैंका लागि मुस्ताङबाट स्याउ, भेडाच्याङ्ग्रा लिन गएका व्यापारीको चहलपहल छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदरकुण्ड गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सदरमुकाम जोमसोम रहेको घरपझोङ र थासाङ गाउँपालिकामा होटल तथा पसल खोलिएको भए पनि अन्य समयको तुलनामा ग्राहक थोरै मात्र भेटिन्छन् ।
बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका पूर्ण रुपमा ठप्प भएपछि वैकल्पिक मार्गको रुपमा उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङ स्थित कोरला नाका प्रयोग गरी सामान आउन थालेपछि नाका क्षेत्रमा ब्यापारिक चहलपहल समेत बढेको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम परियारका अनुसार सुरक्षाको जिम्मासेना, प्रहरी र सशस्त्र प्रहरीले सम्हालिरहेका छन् । संयुक्त गस्तीको क्रममा पर्यटकलाई समस्या भइरहेको अवस्थामा तत्काल समन्वय समेत गरिएको सहायक प्रजिअ परियारले बताउनुभयो । यसैबीच छिमेकी जिल्ला म्याग्दीसँग समन्वय गरी पर्यटकको आवतजावतलाई समेत थप सहज बनाइएको छ । अत्यावश्यक बाहेक अन्य काममा बाहिर निस्कने बेलामा सामूहिक हुलहुज्जत नगर्न नेपाली सेनाले अपील गरेको छ । यसैबीच जेनजी आन्दोलनमा परी देशभर ज्यान गुमाएकाको सम्झनामा मुस्ताङमा दीप प्रज्वलन गरिएको छ । आन्दोलनमा हालसम्म ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरूको उपचार भइरहेको छ ।