• २२ भदौ २०८२, आइतबार

हराउँदै परम्परागत धानका जात

blog

बर्दियामा कृषकले गरेको व्यावसायिक धान खेती । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), भदौ २२ गते । ‘अन्नको भण्डार’ भनेर परिचित बर्दियाका किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत धानका जात हराउँदै गएका छन् । कुनै समय सजिलै पाइने बर्मा, कनजिरा, सुहावत, तालगन्ध र कालानमक जातका धान हाल भने उत्पादनमै सङ्कटमा परेका छन् ।

पहिला परिवारको उपभोग र सानो स्तरमा बिक्रीका लागि मात्रै उत्पादन हुने यी धान जात अहिले खेतबारीमै हराउँदै गएको किसानको अनुभव छ । ती धानबाट उत्पादन हुने चामल स्वास्थ्यका दृष्टिले लाभदायक मानिने भए पनि किसान अब आधुनिक र बढी उत्पादन दिने जाततर्फ आकर्षित भएका छन् ।

गुलरिया नगरपालिका–५, सुहेलवाका किसान राधेश्याम चौधरीले भन्नुभयो, “पहिला धेरै मात्रामा लगाइने बर्मा र कनजिरा अहिले पाउनै गाह्रो भएको छ । किसानले घरायसी प्रयोगकै लागि पनि ती धान लगाउन छाडेका छन् ।”

त्यस्तै गुलरिया–८, पर्सियाका रामफल थारूले भन्नुभयो, “बिउ नै पाइँदैन, खेती कसरी गर्ने ? अहिले बजारमा राधा–४, सावित्री, सिन्धुली, सावा मनसुली, जिरा मसिनो जस्ता जात मात्र सहजै उपलब्ध हुन्छन् ।”

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालका अनुसार बर्दियामा अझै धानको उत्पादन उच्च भए पनि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका कारण परम्परागत जातका खेती घटेको हो । 

बर्दियामा धान उत्पादनका लागि राजापुर र गेरुवा गाउँपालिकालाई मुख्य क्षेत्र मानिन्छ । मधुवन, गुलरिया, बढैयाताल र बारबर्दियामा पनि ठुलो मात्रामा धान खेती हुन्छ ।