गुणबहादुर रोका
सुलीकोट, भदौ २२ गते । गोरखाको गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाभित्र अत्यधिक मात्रामा रहेका चेपाङ जातिहरुको महान् चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गाउँपालिकाले आज सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
पालिकाले धर्म र संस्कृतिको सम्मान गर्दै पालिकाभित्रका चेपाङ समुदायको न्वागी पर्वमा सार्वजानिक बिदा दिने भदौ ६ गते बसेका कार्यपालिका बैठकले निर्णय गरेको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अल्पसङ्ख्यक अति सीमान्तकृत चेपाङ समुदायले हरेक वर्षको भदौ २२ गते सामूहिक रुपमा छोनाम न्वागी मनाउँदै आएकाले उहाँहरुको मुख्य चाडपर्व न्वागी अर्थात् नयाँ अन्नबाली भित्र्याएपछि उपभोग गर्नु अघि प्रकृति देवी देवता, पितृ र कुललाई चढाउने परम्परा अनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
आज पालिकाभित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था एवम् अन्य सङ्घ संस्थाहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।