• २२ भदौ २०८२, आइतबार

ढोरचौर–फालाटे सडक चौडासहित कालोपत्रे

blog

सडक स्तरवृद्धि र कालोपत्रेका लागि सर्वेको कार्य हुँदै । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, भदौ २२ गते । सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर दीर्घकालीन महत्वको ढोरचौर फालाटे सडकको स्तरोन्नति तथा कालोपत्रे गरिने भएको छ । आठ मिटरको चौडा सडक स्तरवृद्धि तथा कालोपत्रेका लागि सल्यानको सिद्धकुमाख गाउँपालिकाले क्षेत्राधिकारभित्र पर्ने सबै अवैध घर, टहरा र अन्य संरचनाहरू हटाउने भएको हो । 

वडा –५ ढोरचौरदेखि फलाटेसम्मको ८ मिटर चौडा सडक स्तरोन्नति तथा कालोपत्रे आयोजना सञ्चालनमा आउने भएको छ । जसका लागि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कंडेलले १६, भदौमा सूचना जारी गरेर १५ दिनभित्र स्थानीय बासिन्दालाई आफ्नै पहलमा अवैध संरचना हटाउन आग्रह गरेका छन् । 

कालोपत्रेका लागि दुई करोड ३० लाख रुपियाँ लागत अनुमान रहेको गाउँपालिकाले जनाएको छ । सडक स्तरवृद्धिका लागि बुधबारदेखि सर्वेको कामसमेत सुरु भइसकेको छ । तोकिएको समयसीमाभित्र अवैध संरचना आफैंले नहटाएमा गाउँपालिकाले सम्बन्धित संरचना हटाउने र यस प्रक्रियामा लाग्ने खर्च सम्बन्धित व्यक्तिबाट कानुनअनुसार असुल गरिने जनाएको छ । 

सूचनामा भनिएको छ, “तोकिएको म्यादभित्र पनि अवैध घरटहरा तथा बनेका संरचनाहरु नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम गाउँपालिका आफैले घर टहरा तथा बनेका संरचना हटाई जग्गा खाली गर्ने र त्यसरी अवैध घरटहरा तथा बनेका संरचनाहरु खाली गर्दा लागेको खर्चहरु सम्बन्धित व्यक्ति–संस्थाबाट कानुनबमोजिम असुलउपर गरिनेछ ।”

सिद्धकुमाख गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को वार्षिक स्वीकृत बजेट र कार्यक्रमअनुसार सडक निर्माण गर्न लागेको छ । सडक स्तरवृद्धि तथा कालोपत्रे भएसँगै त्यस क्षेत्रका बासिन्दाका लागि यातायातमा सहजता, आर्थिक क्रियाकलापमा वृद्धि र समग्र विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

सडक स्तरोन्नति र कालोपत्रे नहुँदा त्यस क्षेत्रमा लामो समयदेखि यात्रु र गाडी सञ्चालनमा कठिनाइ देखिएको छ । अब ८ मिटर चौडाइको फराकिलो सडक निर्माण भएपछि पैदलयात्री, सवारी साधन र व्यापारिक गतिविधिमा सहजता आउने विश्वास गरिएको छ ।