• २२ भदौ २०८२, आइतबार

जनप्रतिनिधिले सडक आन्दोलन गर्ने

blog

पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी गराइँदै ।

अविनाश चौधरी

धनगढी, भदौ २२ गते । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा ठेकेदारले लापरवाही गरिरहेको भन्दै दबाब दिनका लागि कैलालीको गोदावरी नगरपालिकाका  जनप्रतिनिधिले सडक आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

आज अत्तरिया चोकमा पत्रकार सम्मेलन गरी गोदावरी नगरपालिका –३, १०, ११ र १२ का वडाका जनप्रतिनिधिले भोलिदेखि चक्काजाम गर्ने जनाएका हुन् । सुदूरपश्चिम प्रवेशद्वारको रुपमा रहेको अत्तरिया चोकमा ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा चक्काजाम गर्ने जनाइएको छ । यसअघि, चार वटै वडा कार्यालयले दुई दिन सडकबाटै आफ्नो सेवा सञ्चालन गरेर निर्माण कम्पनीलाई दबाब दिएका थिए । 

निर्माण कम्पनी तेडी निर्माण सेवा र एडभेन्चर–थेगिम–सनलाइट जेभीले सडक निर्माणमा चरम लापरवाही गरेकाले आफूहरु आन्दोलनमा उत्रेको वडा १० का वडा अध्यक्ष रवीन्द्र शाहीले बताउनुभयो । 

“एक वर्षमै बन्नुपर्ने सडक छ वर्षसम्म नबन्दा यहाँका जनतालाई धेरै समस्या भइरहेको छ” उहाँले भन्नुभयो, “सडक निर्माणका लागि हामीले पटक–पटक ध्यानाकर्षण गराए पनि नटेरेपछि बाध्य भएर सडकमा उत्रिएका छौं ।” 

चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम–सनलाइट जेभीले पाएको छ । २०७७ भदौ ७ मा यो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । २०७८ माघ १७ गतेसम्म ठेक्का समायवधि रहेको थियो । 

यसैगरी, वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणका लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । १८ महिनामा निर्माण कार्य सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन । 

निर्माण कम्पनीहरुले काम गरेजस्तो देखाउने गरे पनि चरम लापरवाही गरिरहेको जनप्रतिनिधिको आरोप छ । सडक निर्माण कार्यमा लापरवाही गरिरहेका दुवै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर अर्को ठेक्का लगाउन उनीहरुले माग गरेका थिए । तर, त्यस्तो नभएपछि सडक आन्दोलनमा उत्रेका छन् । 

एडभेन्चर–थेगिमले छ वर्षमा करिब ५० प्रतिशत काम गरेको जनप्रतिनिधिको भनाइ छ । त्यस्तै, तेडी निर्माण सेवाले नाली निर्माणको काम सम्पन्न गरेको जनाएको छ । दुबै निर्माण कम्पनीले बाटैमा निर्माण सामग्री छरपस्ट राखेका छन् । पछि ठेक्का भएको चौकीडाँडा–फल्टुडे सडक अन्तर्गतकै बिचको तीन किलोमिटर खण्डमा कालोपत्रे सडक बनिसकेको छ । यो खण्डमा सडक निर्माणका लागि दुई वर्ष अगाडिमात्र ठेक्का सम्झौता भएको बताइएको छ । 

पछि ठेक्का लागेको सडक बनिसके पनि दुई निर्माण कम्पनीले ६ वर्षमा ६ किलोमिटर सडक बनाउन नसकेको वडा नम्बर १२ का वडा अध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । “मेरो पहिलो कार्यकालका बेला सडकको ठेक्का भएको थियो” उहाँले भन्नुभयो, “दोस्रो कार्यकालको तीन वर्ष बित्दा पनि यो सडक बनेन ।”