सिराज खान
नेपालगन्ज, भदौ २२ गते । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित १३ बिघा मैदानमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशाला बन्ने भएको छ ।
रङ्गशालाको आइतबार कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख सङ्गीता सुवेदी र कोहलपुर–२ का वडाध्यक्ष हरि कठायतले शिलान्यास गर्नुभएको छ । अनुमानित २२ करोड रुपियाँ लागतमा सम्पन्न हुने रङ्गशालाका लागि १३ बिघा मैदान छुट्याइएको छ ।
रङ्गशालाका लागि केही महिना पहिले नै डिपिआर तयार पारिएको थियो । डिपिआर तयार भएपछि नगरपालिकाले गत वैशाख महिनामा रङ्गशाला निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो ।
पहिलो चरणमा रङ्गशालाको प्याराफिट निर्माण गरिने छ । कुल सात करोड रुपियाँको लागतमा रङ्गशालाको प्याराफिट निर्माण हुने कोहलपुर नगरपालिकाले जनाएको छ ।
प्रतिस्पर्धामार्फत रङ्गशाला निर्माणको जिम्मा कोहलपुर–२ स्थित शुभ आर्शीवाद–श्री विजी.जेभीले पाएको छ । निर्माणका कार्यकालागि नगरपालिका र निर्माण व्यवसायीबिच एक वर्षे सम्झौता भएको छ ।
दुवै पक्षबिच २०८३ असार मसान्तभित्र प्याराफिट निर्माण गरिसक्नुपर्ने गरी सम्झौता भएको निर्माण व्यवसायी अमृत खत्रीले बताउनुभयो । निर्माण व्यवसायी खत्रीले निर्धारित समयमै योजना सम्पन्न गर्नेगरी काम सुरु गरिएको बताउनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख सुवेदीले रङ्गशाला कोहलपुर नगरपालिकाको गौरवको आयोजना भएको जनाउँदै यसलाई समयमै पूरा गराउने आफुहरूको अधिकतम प्रयास रहने बताउनुभयो ।
लामो समयको प्रयासपछि फुटबल रङ्गशाला निर्माण कार्य औपचारिक रूपमा सुरु भएको कोहलपुर–२ का वडाध्यक्ष कठायतले बताउनुभयो । रङ्गशाला निर्माणका लागि तयार पारिएको डिपिआरअनुसार निर्माणका लागि २२ करोड ७५ लाख ५४ हजार २७२ रुपियाँ लागत लाग्ने छ ।
उक्त रकम लगानीमा चारैतर्फ सुविधासम्पन्न प्याराफिट निर्माण गरिने छ । सोही प्रकारले बाउन्ड्री वाल, होस्टेल ब्लक, शाैचालय, पार्किङ स्थल लगायतका संरचनाहरू पनि निर्माण हुने छन् ।
यही मैदानमा गत तीन वर्षदेखि लुम्बिनी प्रदेशकै सबैभन्दा ठुलो धनराशीको फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ ।