• २२ भदौ २०८२, आइतबार

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छः अध्यक्ष प्रचण्ड

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः नवीनराज कुइँकेल

लमजुङ, भदौ २२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताउनुभएको छ ।

मध्यपहाडी लोकमार्ग अभियानअन्तगर्त आज लमजुङको सुन्दरबजार नगरपालिका-९, भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राख्नुभयो ।

प्रचण्डले भन्नुभयो, “२०६४ मा जस्तै मत हामीलाई एक पटक दिनुस्। हामी सुशासन र सामाजिक न्याय दिन्छौं। आत्मआलोचना र आत्मसमिक्षा सहित भनेको छु । अब फेरि एक पटक सेवा गर्ने मौका दिनुस्, लम्जुङका जनतालाई विकास र समृद्धि दिने सङ्कल्प गर्दछु।” आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उल्लेख गर्नुभयो ।

अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण काेरिडोर निर्माण, गरिब किसानका लागि ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “दोस्रो कार्यकालमा सविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।”

तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गर्नुभयो । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उहाँको भनाइ छ ।

यो अभियानले जनतालाई सत्य र तथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्‍याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।

गत जेठ २ गते बैतडीको पाटनबाट सुरु भएको अभियान बर्खाको समयमा जेठ १२ गते पोखरामा आएर स्थगित गरिएको थियो । आइतबार नै राइनास नगरपालिकामा आयोजना गरिने सहिद परिवार भेटघाट, अन्तर्क्रिया र जनसंवादपछि माओवादी नेतृत्वको टोली गोरखाको पालुङटार प्रस्थान गरेको माओवादी केन्द्र लमजुङका संयोजक रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।