• २२ भदौ २०८२, आइतबार

न्वागी पर्वका अवसरमा आज मकवानपुर र धादिङमा सार्वजनिक बिदा

blog

चेपाङ समुदायले सांस्कृतिक पर्व छोनाम (न्वागी) पर्व मनाउँदै । फाइल तस्बिर

राममणि दाहाल
मकवानपुर, भदौ २२ गते ।
सिमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले सांस्कृतिक पर्व छोनाम (न्वागी) का अवसरमा बागमती प्रदेश सरकारले आइतबार तीन जिल्लामा सार्वजनिक बिदा गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा रहेको जनाएको छ ।

मन्त्रालयका सह प्रवक्ता रबिता कार्कीले भदौ २२ गते आइतबार चेपाङ जातिले मनाउने न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेशको चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा रहेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको गत चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको वैशाखदेखि चैतसम्म नेपाल सरकारले घोषणा गरेको बाहेकका सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार चेपाङ समुदायको पर्व न्वागीका अवसरमा सार्वजनिक बिदा गरिएको हो ।

न्वागी पर्वकै अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले यस वर्ष तीन दिन सार्वजनिक बिदा दिएको छ । चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाले पालिकाभर शनिबारबाट सोमबारसम्म सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रकृतिपूजक सीमान्तकृत समुदायको महत्त्वपूर्ण पर्व न्वागीमा अवसरमा हर्षोल्लासपूर्वक मनाउन दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उक्त तीन दिन पालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थामा सार्वजनिक बिदा हुने भएको छ ।

यस पर्वमा चेपाङका पुरोहित पान्दे झाक्रीहरुले रातभर एकपाखे ढ्याङ्ग्रो ठोकेर मन्त्रोच्चारण गरेर नयाँ अन्न देवता र पितृलाई चढाउँदै आफूहरुले पनि खाने गर्छन् । छोनाम पर्वलाई चेपाङ जातिले दशैँ तिहारभन्दा पनि ठूलो पर्वको रुपमा मनाउने गर्छन् । चेपाङ समुदायले घरमा नयाँ अन्न भित्रिएको खुशीयालीमा मनाइने पर्व छोनाम (न्वागी) पर्व हो ।

चेपाङ पान्दे (पुजारी) हरूले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात् न्वागी पर्व मनाउँछन् । उनीहरुको हरेक वर्ष घिरौंला, निबुवा, घैया धान, पिँडालु, गाभा जस्ता नयाँ अन्नबाली, तरकारी खान पूजा गर्नुपर्ने नियम छ । यो पूजा नगरेसम्म नयाँ बाली खान नपाइने र रोगव्याध लाग्ने उनीहरुको विश्वास छ ।

यसैबीच चेपाङ समुदायले न्वागी पर्व हर्षोल्लासपूर्वक मनाउन तयारी थालेका छन् । चेपाङ समुदायले हरेक वर्ष भदौ २२ गते शुभकामना आदानप्रदान, प्रकृतिको पूजा, आफ्नो खेतबारीमा उत्पादन भएका खाद्यान्न खाएर र रातभर जाग्राम बसेर न्वागी पर्व मनाउँदै आएका छन् ।