अनिल पराजुली
हेटौँडा, भदौ २२ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर बजारमा राँगाले हान्दा एक जना बालक घाइते भएका छन् । शनिबार साँझ राँगाले अटोलाई ठक्कर दिँदा पल्टिन गई अटोमा सवार मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५ वर्षीय आशिष मोक्तान घाइते हुनुभएको हो ।
पूर्व पश्चिम सडक खण्डको लोथरबाट मनहरी तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह १५६० न. अटो बाटो क्रस गर्ने क्रममा मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय नीरज कुँवरको गोठमा बाँधी राखेको राँगो गोठबाट फुत्की अटोलाई ठक्कर दिएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ ।
घाइते बालकको उपचारका लागि मनहरी अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । घाइतेको निधार र बायाँ कुममा भित्री चोट लागेको छ ।