• २२ भदौ २०८२, आइतबार

विद्यालय भवन पुनर्निर्माण

blog

जिरी माध्यमिक विद्यालयको नवनिर्मित भवन । तस्बिर : बाबुराम शर्मा

दोलखा समाचारदाता

दोलखा, भदौ २२ गते । चीन सरकारले दोलखाको जिरी नगरपालिका–६ मा रहेको जिरी माध्यमिक विद्यालयको भवन पुनर्निर्माण गरिदिएको छ । विसं २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले पूर्णरूपमा क्षति गरेको विद्यालय भवन एक अर्ब ३९ करोड ३८ लाख ५२ हजार रुपियाँको लगानीमा पुनर्निर्माण भएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले जानकारी दिनुभयो । 

प्रधानाध्यापक जिरेलका अनुसार नवनिर्मित सुविधासम्पन्न भवन यही भदौ २८ गते विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको छ । नवनिर्मित सुविधासम्पन्न अत्याधुनिक भवनका कक्षाकोठाबाट नियमित पठनपाठन हुने छ । भूकम्पले ध्वस्त विद्यालयको भवन पुनर्निर्माण हुन करिब एक दशक लागेको हो । ढिलै भए पनि जिल्लामै उत्कृष्ट र सुविधायुक्त कक्षा कोठासहितको विद्यालय भवन खडा भएको छ । चाइना एडमार्फत निर्माण गरिएको विद्यालयपरिसरमा कुल सात वटा आधुनिक भवन रहेका छन् । एउटा चारतले र अरू तीनतले भवनमा जम्मा ४१ वटा कक्षाकोठा रहेका छन् । छात्रावास, शिक्षक आवास, सभा हल, पुस्तकालय, शैक्षिक तथा प्रशासनिक भवन, कम्प्युटर ल्याबसहित निर्माण भएको प्रधानाध्यापक जिरेलले जानकारी दिनुभयो ।

विसं २०८० वैशाख ४ गते शिलान्यास गरिएको यो विद्यालयको निर्माण दुई वर्षभित्रै सम्पन्न भएको छ । नयाँ कक्षाकोठामा विद्युतीय बोर्ड व्यवस्था गरिएको छ । प्रधानाध्यापक जिरेलका अनुसार भवन जिरीको भौगोलिक तथा मौसमी अवस्थालाई ध्यानमा राखी निर्माण गरिएकाले सुविधासम्पन्न मात्र नभई पर्यावरणमैत्रीसमेत रहेको छ । विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ५११ जना विद्यार्थी अध्ययनरत छन् ।