• २२ भदौ २०८२, आइतबार

सप्तरीमा एक महिलाको शव फेला

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २२ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७, भङ्गाहा स्थित देवधार खोलाको किनारमा एक ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको हो ।

शनिबार साँझ खोलाको पूर्वपट्टि रहेको काशघारी नजिक अज्ञात महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँले मृतकको पहिचान अझै खुल्न नसकेको र थप अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।