• १९ भदौ २०८२, बिहिबार

नागरिकताप्रति गैर–जिम्मेवार नागरिक

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता लिनेहरुको लाइन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ १८ गते ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले भदौ १३ गते सार्वजनिक गरेको साप्ताहिक कार्यहरुको विवरण अनुसार ८६ जनाले नेपाली नागरिकताको प्रतिलिपि निकालेको उल्लेख छ । जसमा ६२ जनाले नयाँ नागरिकता लिएको देखिन्छ । विवरणका आधारमा २४ जनाले प्रतिलिपि निकालेका छन् ।

गत साउन ३० कै प्रशासनको रिर्पोटमा पनि नयाँभन्दा नागरिकताको प्रलिलिपि निकाल्ने बढी छन् । १५५ जनाले नयाँ र १५८ जनाले नागरिकताको प्रतिलिपि निकालेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।

गुल्मीमा पछिल्ला वर्ष नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपि बनाउने बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा पनि नयाँ बनाउनेहरु बर्सेनी घट्दै गएका छन् । तर प्रतिलिपि लिनेहरुको सङ्ख्या अस्वभाविक वृद्धि भएको छ । यसले नागरिक नागरिकताप्रति जिम्मेवार नदेखिएको गैरेले बताउनुभयो ।

आर्थिक वर्ष २०८१/०८२ मा चार हजार ५४५ पुरुष र चार हजार ५३७ जनाले नयाँ नागरिकता बनाउँदा सात हजार ४५८ जनाले प्रतिलिपि बनाएका छन् । गत वर्ष नौ हजार ६१८ ले नयाँ र पाँच हजार ६३६ ले प्रतिलिपि बनाए थिए । गैरेका अनुसार पैसा नलाग्ने, पुनः बनाउन सकिने भन्ने गलत मानसिकता र सुरक्षामा ध्यान नदिएकाले नागरिकता हरायो, धोइयो भनेर धेरैले बनाउने गरेको बताउनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ मा नौ हजार ६१८ जनाले नागरिकता बनाएकोमा आर्थिक वर्ष २०८१/०८२ मा चार हजार ५४५ पुरुष र चार हजार ५३७ जना महिला गरेर नौ हजार ८२ जनाले वंशजको आधारमा नागरिकता बनाएका छन् । वैबाहिक अंगिकृत १८ र गैरआवासिय १८ जनाले नागरिकता बनाएका छन् ।