• १९ भदौ २०८२, बिहिबार

खानेपानी आएपछि खुसीयाली

blog

सल्यान समाचारदाता

सल्यान, भदौ १९ गते । “पहिले बिहान सबेरै उठेर तल खोलामा जान्थ्यौँ, गर्भवती महिलाले समेत पानी बोक्नुपर्ने बाध्यता थियो । अब त घरमै धारा छ, पानीको पिरै छैन ।” यो भनाइ हो शारदा नगरपालिका–१३, स्यानीखालकी ५५ वर्षीय तिलसरी घर्तीको । उहाँजस्तै ७० वर्षीय विष्णी बुढाको पनि उस्तै थियो दैनिकी । लाइनमा उभिँदा झगडा पर्ने र तनाव उत्पन्न हुने सामान्य जस्तै हुन्थ्यो सल्यान शारदा नगरपालिका–१३ का सयौँ बासिन्दाका लागि । 

अब भने यहाँका घर घरका धारामा पानी आउन थालेपछि दैनिकी फेरिएको छ । स्थानीय ५५ वर्षीय तिलसरी घर्तीले भन्नुभयो, “पढ्न मन भए पनि समय पानीमै खर्चिनुपथ्र्यो । पानीकै लागि रातबिरात हिँड्दा धेरै दुःख पायौँ । अहिले घरमै धारा आउँदा जिन्दगी नै फेरिए जस्तो लागेको छ ।” शारदा नगरपालिका–१३ का सबैको घरआँगनमै धारा जडान भएका छन् । करिब सात करोड रुपियाँको लागतमा बनेको लिफ्ट खानेपानी योजना सञ्चालनमा आएपछि यहाँका ४९५ घरपरिवारमा खुसी छाएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलसीराम रावतले मोख्ले मुहानबाट पानी लिफ्ट गरेर पाँच टोलमा वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार दैनिक साँझबिहान धारामा पानी छाड्ने र खानेपानी योजना मर्मतसम्भारका लागि आवश्यक महसुल लिने व्यवस्थासमेत गरिएको छ । 

पानीले यहाँका परिवारलाई मात्र सहज बनाएको छैन, गाउँकै मुहार फेरिएको छ । दैनिक जीवन, स्वास्थ्य, शिक्षा, सरसफाइदेखि कृषि उत्पादनसम्ममा पानीले स्वरूप फेरिदिएको शारदा नगरपालिका–१३ का अध्यक्ष जङ्गबहादुर बुढाले भन्नुभयो । सल्यानमा जलवायु परिवर्तनका कारण माथिका साना मूल सुकेका र ठुला मुहान तल र बस्तीमाथि भएकाले लिफ्ट प्रणाली अपनाइएको हो । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख अनुप श्रेष्ठका अनुसार कर्णाली प्रदेशका धेरैजसो योजना अहिले लिफ्ट प्रणालीमा आधारित छन् ।