नेपाली महिलालाई तिजले धपक्कै छोएको छ । महिला आवाज बुलन्द गर्ने अवसरका रूपमा समेत लिइने तिजको धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक महìव बेजोड छ । केही समययता तिज वैभव देखाउने, आधुनिक बन्ने होड देखिए पनि यसको मौलिकता कायम छ, तिथि अनुसार व्रत बस्ने, पूजा गर्ने चलनमा कुनै कमी आएको छैन ।
तिज आउनासाथ एकथरिले वैदिक सनातन धर्म, संस्कृति, संस्कार र अभ्यासमाथि धावा बोल्ने मेसो पाउँछन् । तिजको शास्त्रीय महत्व बुझ्दै नबुझी तिजलाई महिलामाथि पुरुषको थिचोमिचोका रूप भन्दै विरोध पनि गर्छन् । कथित अधिकारवादी पुरुषको दीर्घायुका लागि महिलाले किन भोकभोकै बस्ने भन्दै महिला अधिकार हनन भएको, स्वतन्त्रता छिनेको तर्क गर्छन् । तिज नै यस्तो पर्व हो जहाँ महिला भेला भएर आफ्ना मनका कुरा गीत सङ्गीतमार्फत निर्धक्क व्यक्त गर्छन् ।
तिज मनाउने यो एउटा पाटो हो भने यसको व्रतको विधि र व्रतालुको सन्दर्भमा शास्त्रले अर्कै किसिमले गरेको छ । जसरी पतिको दीर्घायुका लागि पत्नीले तिजको व्रत बस्ने भनिएको छ । पत्नीका लागि पनि पतिले व्रत बस्नुपर्ने उल्लेख शास्त्रले गरेको छ । शास्त्रले तिजको व्रत महिला पुरुष दुवै मिलेर गर्नुपर्ने बताएको छ । जसरी नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मत राखेको छ त्यस्तै तिजको व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने शास्त्रीय मान्यता छ ।
नेपाली समाजमा धर्मकर्म र तीर्थव्रत महिलाले नै बढी गर्छन् । यसको आफ्नै सामाजिक अभ्यास छ । परिवार व्यवस्थापनका हिसाबले महिला प्रायः घरमा बस्ने भएकाले पनि व्रतलगायतका अन्य धार्मिक कर्ममा महिला बढी अग्रसर भएका हुन् । अन्यथा कुनै पनि धार्मिक कार्यमा महिला पुरुष दुवैको समान सहभागिता हुनै पर्छ । तिज पनि यस्तै हो । पुरुषले घरबाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थालेपछि घरलगायत धर्मकर्म तथा व्रत बस्ने जिम्मेवारी पनि महिलालाई दिइएको बुझिन्छ । यो एक किसिमले श्रम विभाजनकै अर्को रूप पनि हो । पुरुष वा महिला जसले गरे पनि हरेक धार्मिक कर्म परिवार र समाज हितका लागि हुने भएकाले यसमा अन्यथा सोच्नु गलत हुन्छ ।
तिज पर्व देवादिदेव महादेव र पार्वतीको पूजाआराधना गरी मनाइन्छ । तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाए पनि पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तिजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।
तिजमा निराहार, जलाहार र फलाहार व्रत बस्ने गरिन्छ । सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिएको छ । शास्त्रले पनि शरीरलाई दुःख दिएर गरेको कर्मले फल दिँदैन भनेको छ । तिजकै सन्दर्भमा पनि ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भनिएको छ । धर्मका नाममा आत्मा मारेर बस्नेहरूले धर्मशास्त्रीय यो वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ । स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने शास्त्रीय मत रहेको छ ।
तिजको व्रतको सन्दर्भ महिलाको हकमा बढी चर्चा हुने गरेको छ र यहाँ पतिको दीर्घायु वा असल पति प्राप्तिको कामनासँग मात्र यसलाई जोडिन्छ । नारीले घरको अभिभावकत्व लिएको हुँदा समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । परिवारको यश, लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तिजको व्रतको महत्व छ ।
व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तिजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तिजको व्रत हिन्दुका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको कतिपय शास्त्रीय ज्ञाताको दाबी छ । पृथ्वीका सबै महिलाले यस्ता किसिमको व्रत बस्नुपर्ने र यसले आत्मा, शरीर र मस्तिष्क तीन वटै पक्षलाई स्फूर्त राख्ने, चेतना
जागृत गर्ने र सम्बन्धमा सुमधुरता आउने कथन पनि सुन्नमा आउँछ । सन्दर्भ, प्रसङ्ग र धार्मिक, सामाजिक महत्व जेजस्तो थियो र जुन उद्देश्यका लागि यस्ता विधि स्थापित गरियो यसको शास्त्रीय महिमा आजभोलि हराउँदै गएको छ । व्रतलाई मौलिक अधिकार वा मानव अधिकार हननका रूपमा लिने गरिएको छ । व्रत बस्नु नबस्नु व्यक्तिको आफ्नो इच्छा हो । अरूको आस्थामा ठेस पुग्ने गरी अभिव्यक्ति दिनु पनि अधिकार हनन् नै हो भन्ने सबैले बुझ्नु पर्छ । यस व्रतलाई सङ्कुचित अर्थमा लिन हुँदैन । हरेक धार्मिक, सांस्कृतिक पर्वको प्रकृति र सृष्टि संरचनालाई सन्तुलिन बनाउने महान् उद्देश्य रहेको हुँदा यसका वैज्ञानिक पक्षको पनि विश्लेषण गर्ने हो भने हाम्रा पर्वहरू सबै मानवतावादी, यथार्थवादी र प्रकृतिवादीका साथै मानव स्वास्थ्यलाई मजबुत बनाउन केन्द्रित रहेको पाइन्छ ।
तिजकै अवसरमा प्रयोग गरिने दतिवनको औषधीय महत्व र यसको प्रयोग गर्ने समयलाई हेरे धेरै प्रस्ट हुन्छ । तिजको व्रत बसेका महिलाले दतिवन चपाएर स्नान गर्ने चलन छ । यसबाट दाँतदेखि शरीरभित्रका अन्य रोग हटाउन मद्दत गर्छ । दतिवन बहुऔषधीय वनस्पति हो । छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ । यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउँमा मलहमका रूपमा लगाउन सकिन्छ । कुकुर, सर्प र बिच्छीले टोकेको ठाउँमा दतिवनको पातको रस तुरुन्तै लगाइदिँदा विष शरीरभित्र छिटो फैलन पाउँदैन ।
दतिवनको ताजा पात बिहान उठेपछि र राति सुत्नु अघि चपाएर खाएमा कब्जियत नष्ट हुन्छ । पखाला लाग्दा तीन ग्राम जति दतिवनका पातबाट तयार पारिएको काँढा चिसो भएपछि मह मिलाएर पिउनाले बारम्बार भइरहने दिसा बन्द हुन्छ । मूत्रथैली र मिर्गौलाको पत्थरीलाई बिस्तारै ससाना टुक्रा पारी पिसाबबाट निकाल्ने क्षमता दतिवनमा हुन्छ । आँखामा फुलो परेमा
दतिवनको सफा जरा महमा घोटेर बनाइएको लेप गाजलझैँ लगाउन सकिन्छ ।
धार्मिक र शास्त्रीय रूपमा तिजको जेजस्तो छ सामाजिक महत्व पनि उत्तिकै अर्थपूर्ण छ । नारी स्वतन्त्रताको एउटा उत्सव पनि मानिन्छ, तिज । गीत सङ्गीतको महोलमा स्वतन्त्रतापूर्वक गरिने नाचगानले सामाजिक सद्भावलाई बढाउन ठुलो मद्दत गरेको छ । पारिवारिक मिलन र सहिष्णुता तथा आपसी सम्बन्ध प्रगाढ बढाउने पर्वका रूपमा पनि तिजलाई लिइन्छ । तिजका बेला छोरीचेलीलाई माइतीघर निम्ता गर्ने चलन छ । लुगाफाटो दिने, दक्षिणा दिने र मिठोमिठो परिकार बनाएर ‘दर’ खुवाउने गरिन्छ । यसले माइती र चेलीको सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेको छ ।
धार्मिक, सांस्कृतिक, सामाजिक रूपमा महत्वपूर्ण पर्व तिज आजभोलि भने विकृतिको दलदलमा फस्दै गएको छ । आधुनिकताका नाममा यसको महिमा ओझेलमा पारिएको छ । तिज नेपाली लोकसङ्गीत जगेर्ना गर्ने र महिलाका आवाज बुलन्द गर्ने एउटा ठुलो उत्सव भए पनि तिजका गीतका नाममा छाडा र अश्लीलता फैलाउने काम भइरहेको छ । समाजमा घृणा फैलाउने किमिसका अभिव्यक्ति आउन थालेका छन् ।
होे, तिज मनाउने क्रममा केही नराम्रा पक्ष हाबी भएका छन् भने त्यसमा सुधार हुनु पर्छ । शास्त्रले अस्वीकार गरेका कुरा तिजको नाममा नभएको भन्न सकिन्न । त्यसलाई शास्त्रीय र सामाजिक रूपमा सच्याउँदै तिजको मौलिकता कायम राख्नु पर्छ । तिज महिलाले पुरुषका लागि होइन कि पुरुषले पनि महिलाका लागि व्रत बस्ने लैङ्गिक समानताको एक उत्कृष्ट शास्त्रीय परम्परा र मान्यता हो । तिज नारी पुरुष दुवैका लागि हो भन्ने तथ्य बुझेर सबैले समान सहभागिता जनाउन सके यसको गरिमा बढ्ने छ ।