तानसेन समाचारदाता
तानसेन, भदौ १० गते । स्थानीय तहले बजेटको अवस्था हेरेर हरेक गाउँघरमा विकासका पूर्वाधार पु¥याउने कोसिस गरिरहे पनि नागरिक भने सुविधा खोज्दै सहरतिर लाग्ने क्रम रोकिन सकेको छैन । स्थानीय तहहरूले सडक, विद्युत्, खानेपानीलगायतका सुविधा नागरिकका घर घरमा पु¥याउन हरेक वर्ष लगानी बढाए पनि नागरिकको बसाइँसराइँ भने गाउँबाट सहरतिर ओइरिने क्रम जारी छ ।
ग्रामीण क्षेत्रका बासिन्दा शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर खोज्दै बसाइँ सर्ने क्रम बढेको छ । जिल्लाका १० वटै पालिकामध्ये रामपुर नगरपालिकामा बाहेक अन्य पालिकामा बसाइँ सरी जाने मानिसको सङ्ख्या बढी छ । बसाइँ सरेर भैरहवा, बुटवल, काठमाडौँलगायतका स्थानमा जाने बढी छन् ।
रामपुर नगरपालिकामा गत आव २०८१/८२ मा ३३२ जना बसाइँ सरेर गएका छन् । सदरमुकाम तानसेनमै बसाइँ सरी आउने ४०२ जना छन् भने तानसेन छाडेर जाने ५०१ जना छन् । नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले सदरमुकाम तानसेनमा विकासका पूर्वाधार, स्वास्थ्य तथा शिक्षाको राम्रो प्रबन्ध भए पनि बुटवल र काठमाडौँमा बसाइँ सरेर जानेको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
बगनासकाली गाउँपालिकामा गत आवमा ३५ जना बसाइँ सरी आए भने २८१ जना गाउँ छाडेर अन्यत्र गएका छन् । रम्भा गाउँपालिकामा आउने ३३ जना र बसाइँ सरेर जाने २९९ जना छन् । रैनादेवी छहरामा गत आवमा ४८ जना बसाइँ सरी आएका छन् भने ३९३ जना बसाइँ सरेर बाहिर गएका गाउँपालिकाले जनाएको छ ।
रिब्दीकोट गाउँपालिकामा बसाइँ सरेर आउने ४४ जना र गाउँघरबाहिर जाने ३४० जना रहेका गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पछिल्लो समय गाउँबाट सहरमा जाने लहर चलेकाले गाउँबाट बसाइँसराइ रोक्न नसकेको बताउनुभयो । गाउँमा खानेपानी, सडक, विद्युत्लगायतका पूर्वाधार पुगे पनि रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यका कारण मानिस सहरतर्फ लागेका उहाँको भनाइ छ ।
जिल्लाको निस्दी गाउँपालिकामा पनि बसाइँ सरेर अन्त जाने क्रम बढ्दो रहेको छ । निस्दी गाउँपालिकाबाट गत आव २०८१/८२ मा १३ जना मात्र बसाइँ गरेर आएका थिए, जबकि २१९ जना बसाइँ सरेर अन्यत्र गएका थिए । पूर्वखोला गाउँपालिकामा पनि २१ जना बसाइँ सरेर भित्रिएका छन् । ३२५ जना मानिस बसाइँ सरेर अन्यत्र गएका छन् । माथागढी गाउँपालिकाको बसाइँ सरेर आउने ११२ जना र बसाइँ सरी जाने २८५ जना छन् । तिनाउ गाउँपालिकामा बसाइँ सरेर आउने ६३ जना र जाने २०१ जना छन् ।
योजना अभाव
बसाइँसराइ रोक्ने पालिकाको कुनै योजना छैन । त्रिभुवन बहुमुखी क्याम्पसका सहप्राध्यापक सन्तोष खनालले विकासनिर्माणका पूर्वाधार निर्माणमा मात्र ध्यान भए पनि गुणस्तरीय स्वास्थ्य र शिक्षाको सुविधा, रोजगारीको सिर्जनामा पालिकाको ध्यान नपुगेको बताउनुभयो । पालिकाले बस्ती विकासका योजनासहित पूर्वाधार निर्माण र गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिन सक्ने हो भने बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।