• १० भदौ २०८२, मङ्गलबार

नयाँ प्रजातिको कछुवा फेला

blog

कैलालीमा भेटिएको नयाँ प्रजाति इन्डियन स्टार कछुवा । तस्बिरः विजयराज श्रेष्ठ

अविनाश चौधरी

धनगढी, भदौ ९ गते । कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो । 

भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो प्रजातिको कछुवा यसअघि नेपालमा अभिलेख भएको थिएन । भेटिएको कछुवा नेपालका लागि नयाँ प्रजाति इन्डियन स्टार कछुवा रहेको कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताउनुभयो ।

“यसअघि यो प्रजातिको कछुवा नेपालमा पाइएको अभिलेख छैन” उहाँले थप्नुभयो, “नेपालका लागि यो नयाँ प्रजाति हो ।” जानकी गाउँपालिका–६ स्थित कर्णाली नदीको तटीय क्षेत्रमा रहेको वनमा यो कछुवा भदौ ३ गते भेटिएको थियो । 

बाख्रा चराउने बालबालिकाले फेला पारेको कछुवालाई उद्धार गरेर सोही दिन प्राकृतिक बासस्थानमा छोडिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार कैलाशेश्वर र जगतपुर सामुदायिक वन क्षेत्र आसपासमा कछुवा भेटिएको थियो । संयोगवस आफूसहित जगतपुरका दुई स्थानीय ओतको बासस्थान पत्ता लगाउन वनमा गएको बेला बालबालिकाले अनौथो किसिमको कछुवा भेटाएको देखेपछि उद्धार गरेर वनमै छाडेको श्रेष्ठले बताउनुभयो । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइसिएन) को रातो सूचीमा रहेको इन्डियन स्टार कछुवा संवेदनशील प्रजाति मानिन्छ ।