• ९ भदौ २०८२, सोमबार

वीरगञ्जमा हैजा संक्रमितको सख्या ९३ पुग्यो

blog

सोमबार विरगञ्जमा सबैभन्दा बढी हैजा संक्रमित उपचाररत नारायणी अस्पतालको निरीक्षण गर्नुहुदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल । तस्बिरः दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, भदौ ९ गते । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको जनाउदै त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनु भएको छ । 

मन्त्री पौडेलले सोमबार वीरगञ्जमा हैजा संक्रमित उपचाररत नारायणी अस्पतालको निरीक्षण गर्नु हँुदै मन्त्री पौडेलले हैजा नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक स्रोतसाधन परिचालन गरिने बताउनुभएको हो । 

निरीक्षणकाक्रममा उहाँले बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरी बिरामीहरूको स्वास्थ्य अवस्था, औषधी उपचार, सेवा प्रवाह, तथा उपचारमा देखिएका समस्याहरूको बारेमा जानकारी लिनुभयो ।  

हैजाको प्रकोप समुदायस्तरमै फैलिँदै गएपछि निरीक्षणका क्रममा वीरगञ्जको  नारायणी अस्पताल पुग्नुभएका मन्त्री पौडेलसँग एक बिरामीका आफन्तले डाक्टरले तोकेको औषधी आफैंले किन्नुपरेको गुनासो गरेपछि मन्त्री पौडेलले तत्काल सम्बन्धित पक्षलाई समस्याको समाधान गर्न निर्देशन दिनुभएको थियो ।  

मन्त्री पौडेलले राख्नु भएको जिज्ञासामा एक स्वास्थ्यकर्मीले सलाइन र इन्जेक्सनजस्ता सामग्रीहरू र अस्पतालमा उपलब्ध औषधीहरु निःशुल्क उपलब्ध गराइएको तर केही अन्य औषधी भने बिरामीलाई किन्न लगाइएको हुनसक्ने बताएका थिए । 

त्यसपछि मन्त्री पौडेलले चिकित्सकलाई भन्नुभयो, ‘बिरामी वा कुरुवाले कुनै पनि औषधी किन्न नपर्ने र परीक्षणको पनि कुनै शुल्क नलाग्ने अवस्था बनाउनु होला । बिरामीलाई राज्यले दिनुपर्ने सहुलियत दिनु होला ।’ 

सरकारी अस्पतालमा महामारीका बिरामीको उपचार सरकारले पूर्णरूपमा निःशुल्क गरेको बताउनु हुँदै उहाँले महामारी प्रभावित उपचाररत अस्पतालमा औषधी र जनशक्तिको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्री पौडेलले निजी अस्पतालमा समेत सरकारले परीक्षण किट उपलब्ध गराउने निर्णय गरिसकेको अनि झाडापखाला र हैजाको महामारी फैलनुको कारण पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले विज्ञ, प्राविधिकसहितको टोली परिचालन गरिसकेको र उक्त टोलीले काम पनि सुरु गरिसकेको बताउनुभयो । 

अनुगमनपछि मन्त्री पौडेलले विरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, स्वास्थ्य कार्यालयका अधिकारीहरू र अन्य सरोकारवालासँग हैजा नियन्त्रणका लागि भइरहेका प्रयासबारे छलफल गरी आवश्यक जानकारी लिनुभएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्जमा सोमबार साँझ साढे ५ बजेसम्म सङ्क्रमितको संख्या ९३ पुगेको छ । नारायणी अस्पतालमा ३२ जना, तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थकेयर र मंगलम प्याथोलोजीमा ३–३ जना, अलि अर्थोअस्पतालमा २ जना र सर्वोत्तम अस्पताल नेपाल इण्डो अस्पताल, निलकण्ठ अस्पताल, एडभान्स मेडिकेयर अस्पताल नारायणी सेन्ट्रल अस्पताल र नेपाल मेडिसिटी बयोधा अस्पताल १–१ जना संक्रमित पुष्टि भएका हुन् ।  

रौतहटको गौरस्थित प्रादेशिक अस्पतालबाट दुई जना चिकित्सक र तीन जना स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) सहितको पाँच सदस्यीय स्वास्थ्यकर्मीको टोली वीरगञ्ज आएर झाडापखाला र हैजा नियन्त्रणका लागि खटिएको छ । 

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले विरगञ्जमा झाडापखाला र हैजाका बिरामी संख्या बढ्न थालेपछि आवश्यक स्वास्थ्य सहायताका लागि टोली पठाइएको बताउनुभयो ।

गौरबाट आएको चिकित्सक टोलीले पनि संक्रमित क्षेत्रको अवलोकन, बिरामीको उपचार तथा महामारी नियन्त्रणमा प्रत्यक्ष सहयोग गरी रहेको वीरगञ्ज महानगरका स्वास्थ्य शाखाले जनाएको छ । 

यता, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले हैजाको सङ्क्रमण नियन्त्रणमा प्रभावकारिता ल्याउन प्रभावित क्षेत्रमा जथाभाबी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्नमा जोड दिनुभएको छ । 

स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै काम एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिनुभएको छ । 

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा. प्रवीण झाले एक बिरामीमा हैजाको संक्रमण पुष्टि भइसकेपछि त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण नदोहो¥याइ सिधा उपचारमा ध्यान दिन स्वाथ्यकर्मीलाई आग्रह गर्नुभयो ।