प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ ९ गते । शनिबार साँझको साढे ६ बजे फोनको घण्टी बज्यो । “आमा– बजारबाट के ल्याउँ ? छोरा, ललिपप ।” यही कुरा आमा छोराबिचको अन्तिम संवाद बन्यो ।
शनिबार दिउँसो २ बजे काजल ब्युटिपार्लर जानका लागि डेराबाट निस्केकी रुबीकुमारी साह कहिल्यै घर नफर्किने गरी सदाका लागि बिदा हुनुभयो । तीज र चौरचनका लागि आइतबार ससुराली भारत जाने डेरामा सम्पूर्ण तयारी गरिसक्नुभएकी रुबीको प्याकिङ् जस्ताको त्यस्तै रहयो ।
साँझको ६ः३० बजे घर आउँदैछु भनेकी छोरी नआएपछि ५९ वर्षीया आमा मिथिलेश देवीले करिब ७ बजे फोन गर्दा सुरुमा फोन उठेन र त्यसपछि स्विच अफ भएको मोबाइल अहिलेसम्म अन भएको छैन ।
रौतहटको माधवनारायण नगरपालिका–६ की साहको शव गौर गङ्गा पिपरा सडक खण्डअन्तर्गत मुडवलावा गेट नजिकबाट सुटकेसभित्र कोचिएको अवस्थामा शनिबार राति भेटिएपछि घटना साधारण हत्या मात्र नभई योजनाबद्ध अपराध भएको परिवारजनको भनाइ छ ।
घाँटीमा डाम, टाउकोमा चोट लागेको र नाकबाट रगत बगेको अवस्थामा शव प्याक गरिएको थियो ।
रुबीको शव भेटिए पनि मोबाइल फोन फेला परेको छैन । रुबीले प्रयोग गर्ने नेपाली नम्बर ९७०५४९९३३५ र भारतीय नेटवर्क कम्पनी एयरटेलको नम्बर ७२५००५४०६६ आइतबार १२ बजेतिर केही बेरका लागि अन भए पनि पछि अफ भएको प्रहरीले गरेको कल ट्रेसले देखाएको छ ।
रुबीको विवाह १२ वर्षअघि भारतको मुजफ्फरपुर रक्साका शिव सागर साहसँग भएको थियो । रौतहट गौर–२ महादेवपट्टीमा डेरा लिएर बस्दै आउनुभएकी आमा मिथिलेश देवीकहाँ चार वर्षीय छोरासँगै रुबी केही समयदेखि बस्दै आउनुभएको थियो ।
रुबीका भिनाजु राजन महतोका अनुसार रुबीको बिहे अघि प्रेम सम्बन्ध रहेको र उनकै प्रेमीले हत्या गरेको आशङ्का गर्नुभएको छ ।
बिहे अघिदेखिको प्रेमी केही दिन अघि मलेशियाबाट आएको र एयरपोर्टबाट आउँदै गर्दा राखेको भिडियोमा रहेको सुटकेस नै शव राख्न प्रयोग गरेको उहाँको आरोप छ । उहाँका अनुसार प्रेमीको टिकटक आइडि shiwark3 मा देखिएको सुटकेशसँग हत्यामा प्रयोग गरिएको सुटकेस मेल खाने भएकाले शङ्का जाने निश्चित छ, अर्कोतिर बिहेपछि पनि रुबी र प्रेमीको फोनमा कुरा हुने, फेसबुक म्यासेन्जरमा कुरा हुने लगायतका प्रमाणका आधारमा प्रेमीले नै हत्या गरेको दाबी भिनाजुको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार विभिन्न तरिकाले अनुसन्धान अगाडि बढाइएको बताउनुभयो । यहाँबाट मात्र सम्भव नदेखिएर काठमाडौँबाट समेत सिआइबीको टोली मगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले गौरका विभिन्न ठाउँका सीसीटीभी फुटेज सङ्कलन गरिरहेको छ भने काजल ब्युटी पार्लर सञ्चालिका र परिवारका सदस्यसँग बयान लिने क्रम जारी राखेको छ ।
रुबीको पोस्टमार्टम भई शव परिवारको जिम्मा लगाइएको प्रादेशिक अस्पताल गौरका डा. घनश्याम ठाकुरले जानकारी दिनुभयो । पोस्टमार्टममा समेत केही शङ्कास्पद कुराहरु देखिएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।