दीपकप्रसाद गौतम
वीरगन्ज, भदौ ८ गते । वीरगन्ज मा हैजाको सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । शुक्रबार साँझ वीरगन्जको तराई अस्पतालमा झाडापखाला लागेर उपचाररत तीन जना बिरामीमा हैजा देखिएको हाे ।
वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहका अनुसार आइतबार दिउँसोसम्ममा ५४ जना झाडापखाला लागेर अस्पताल भर्ना भएका बिरामीहरूमा हैजाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरू अस्पतालमा नै रहनु भएको र केही परीक्षणको रिपोर्ट नआएकाले एकिन सङ्क्रमितको सङ्ख्या साँझमा निश्चित हुने उहाँले बताउनुभयो ।
वीरगन्जका एक दर्जनभन्दा बढी अस्पतालमा करिब एक सय पचास जना झाडापखाला तथा हैजा पुष्टि भएका बिरामीको उपचार चलिरहेको छ । सबैभन्दा बढी बिरामीको घुइँचो भने नारायणी अस्पतालमा छ ।
नारायणी अस्पतालमा हैजा पुष्टि भएका २५ जना र झाडापखालाका गरी ४५ जना बिरामीको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । त्यसैगरी तराई अस्पतालका १२ जना बिरामीको पनि हैजाको उपचार भइरहेको छ ।
यस्तै, नेसनल मेडिकल कलेजमा ६ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने वीरगन्ज हेल्थ केयर अस्पतालमा ३ जनामा हैजा सङ्क्रमण पुष्टि भएका बिरामी उपचाररत छन् । यसैगरी, भवानी अस्पताल, अली अर्थो ट्रमा सेन्टर, नारायणी सेन्ट्रल अस्पताल र मङ्गलम अस्पतालमा २-२ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
सबैभन्दा बढी नारायणी अस्पतालमा करिब ४५-५० जना, तराई अस्पतालमा ३५-४० जना र वीरगन्ज हेल्थकेयर अस्पतालमा करिब ३० जना तथा एडभान्स अस्पतालमा १४ जना, नेसनल मेडिकल कलेजमा १४ जना झाडापखाला एवं हैजाका बिरामी अहिले पनि उपचाररत छन् ।
शुक्रबार राति करिब ३० जना झाडापखालाका बिरामी उपचाररत थिए र शनिबार रातिसम्म ९२ जना बिरामी उपचाररत थिए । आइतबार बिहानसम्ममा त्यो सङ्ख्या १ सय २९ पुगेको थियो भने आइतबार दिउँसोसम्ममा झाडापखाला तथा हैजाका बिरामीको सङ्ख्या एक सय पचासभन्दा माथि छ ।
अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा ११, १२, १६ र १८ का रहेका छन् । हैजा सङ्क्रमण पुष्टि भएर अस्पतालमा उपचाररत एक जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको उपचार भइरहेको छ ।
हैजा सङ्क्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा यसैबाट हैजा फैलिएको हो भन्ने यकिन जानकारी कहि कतैबाट आउन सकेको छैन ।
मृतक दुवैको स्वास्थ्य परीक्षण गर्न नपाइएको
हैजाबाट हालसम्म कसैको मृत्यु नभएको स्थानीय प्रशासनको दाबी छ । एकको अस्पताल ल्याउँदा ल्याउँदै तथा अर्कोको अस्पताल ल्याउने बित्तिकै मृत्यु भएकाले मृतक दुवैको स्वास्थ्य परीक्षण गर्न नपाइएको तर दुवैको लक्षण हैजासँग मिल्दोजुल्दो भएको भएको दाबी प्रशासनले गरेकाे छ ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका अधिकृत राजु साहले स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत वीरगन्ज अधिकांश अस्पतालमा पनि किट वितरण गरिएको जानकारी दिनुभयो ।
शनिबार महानगरले महानगरपालिकाभित्र सञ्चालित अस्पतालका सञ्चालकहरूसँग बैठक बस्दै सङ्क्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार महानगरका कर्मचारीहरूको बैठक बसी धेरै जोखिमयुक्त क्षेत्र मानिएका १ देखि १६ वडा क्षेत्रमा घर–घरमै पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको वीरगन्ज महानगरपालिकाले जनाएको छ।
हैजा रोगका प्रमुख लक्षणहरू
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार हैजा रोगका प्रमुख लक्षणहरूमा निरन्तर झाडापखाला, बान्ता, पेट दुख्ने, ज्वरो आउने, आँखा गाडिने, मांसपेशी दुख्ने र शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुने छन् । उहाँका अनुसार समयमै उपचार नभए रोगले मृत्युसम्म पुर्याउन सक्छ ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. सिंहका अनुसार पहिले महानगरको दुई वटा वडाका दुई टोलमा देखिएको अहिले करिब ६-७ वडा वडाका एक दर्जनभन्दा बढी टोलका झाडापखाला लागेर अस्पतालमा भर्ना भएका बिरामीका हैजाको सङ्क्रमण पुष्टि भएकाले हैजा समुदायस्तरमै फैलिएको छ ।
त्यस्तैगरी, वीरगन्ज महानगरपालिकाले हैजा समुदायस्तरमा नै पुगेको जनाउँदै अझ फैलिन नदिन सबै विद्यालयको पठनपाठन आइतबार र सोमबारका लागि बन्द गरेको छ । त्यस्तैगरी, महानगर क्षेत्रभित्र पानी पुरी, चाट, भाजा लगायतका खुला स्थानमा सडक छेऊमा बिक्री हुने खाद्यवस्तुको बिक्री वितरण नगर्न सबैलाई अनुरोध गरेको छ ।