फडिन्द्र अधिकारी
लेखनाथ, भदौ ९ गते । कास्कीको पोखरा महानगरपालिका १३ आर्बामा नगर बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । सोमबार बिहान पौने १० बजेतिर आर्बाबाट पोखरा आउने क्रममा ग१ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनापछि घाइतेहरुलाई तत्कालै उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । घाइतेमध्ये एघार जना डिस्चार्ज भइसकेका छन् भने अरुको उपचार जारी छ । नगर बसका चालक ४२ वर्षीय तेजबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
“दुर्घटनामा चार जना मध्यम घाइते र अरु सामान्य घाइते हुनुभएको छ,” बस्नेतले भन्नुभयो, “ओरालो बाटोमा नियन्त्रण गुमाएको देखिन्छ । कारणबारे अनुसन्धान जारी छ ।” बसमा ३० जनाभन्दा बढी यात्रु सवार रहेको र बाँकी यात्रु सकुशल रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।