• ९ भदौ २०८२, सोमबार

‘इँटा उद्योगीका समस्याप्रति सरकार बेखबर’

blog

साधारण सभामा बोल्नुहुँदै सुदूरपश्चिम अध्यक्ष बलदेव सिंह बुडाल । तस्बिर : गोरखापत्र

भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ ९ गते । सुदूरपश्चिम प्रदेशका इँटा व्यवसायीहरूले सरकार आफूहरूका समस्या प्रति बेखबर रहेको आरोप लगाएका छन् । 

सोमबार पुनर्वास उद्योग वाणिज्य सङ्घ कञ्चनपुरमा नेपाल इँटा उद्योग  महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभामा बोल्नुहुँदै इँटा व्यवसायीहरूले यस्तो बताएका हुन् । 

नेपाल इट्टा उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुडालले उद्योगीहरूलाई लगानी गर्न सरकारले सहयोग उपलब्ध नगराउँदा कयौँ उद्योगीहरू पलायन हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

केहि वर्षयतादेखि सरकारले स्वदेशमै काम गरिरहेका युवाहरूलाई विदेश पठाउन सुरु गरेपछि व्यवसाय झन् धराशायी बन्दै गएको उहाँले बताउनुभयो । अहिले ८० प्रतिशत युवाहरू भारतबाट कामका लागी मगाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

“यहाँका युवाहरू अध्ययन गर्न भन्दै विदेश जाने गरेका छन्, उहाँले भन्नुभयो, सरकारले अध्ययन गर्न उनीहरूलाई सहयोग गर्ने गरेको छ, तर उद्योगीहरूलाई कुनै सहयोग गरेको छैन ।”

उद्योगीहरूलाई कुनै सहयोग नगर्दा इँटा उद्योगीहरू पलायन हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि पुर्नवास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले राज्यको नीतिमा परेको फरकका कारण इट्टा उद्योगहरू धराशायी बन्दै गएको बताउनुभयो । 

पुनर्वासमा १७/१८ इट्टा उद्योग रहेकोमा हाल ६/७ मात्रै उद्योग रहेकाले पलायन हुँदै गएका व्यवसायीहरुलाइ सरकारले पुन लयमा फर्काउन उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो । 

पुनर्वासमा इँटा उद्योग सञ्चालन होस भन्ने उद्देश्यले धेरै जसो इँटा नै प्रयोग ल्याइयोस् भन्नका लागी सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो । नेपाल इट्टा उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रजापतिले इट्टा उद्योगीलाई बैंकहरुले समेत लखेट्ने काम गरेको भन्दै आपत्ति जनाउनुभयो । 

उद्योगीलाई समस्या पर्दा सहुलियत उपलब्ध गराउनुपर्नेमा उल्टै झन्झटिलो व्यवस्थाले इँटा उद्योगीलाई मारमा पार्ने काम गरिएको उहाँले बताउनुभयो । एकातिर इँटा उद्योगीहरूको बिमा समेत नगरिँदा राज्यले झन् अन्याय गरेको उहाँले बताउनुभयो ।