नारद कोहार
तौलिहवा (कपिलवस्तु), भदौ १० गते । कपिलवस्तु नगरपालिका ३ बाणगङ्गा नदीको रामघाटमा सोमबार बेपत्ता भएको किशोरको शव फेला परेको छ । भैंसी फर्काउने क्रममा कपिलवस्तु नगरपालिका ३ डेरवाका १४ वर्षीय मोहन चौहान बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहका अनुसार रामघाटको हनुमान मूर्तिनजिकै नदीभित्र शव सुरक्षाकर्मीको उद्धार टोलीले फेला परेको बताउनुभयो । उहाँले भन्नुभयो “ सोमबार ३ घण्टा र आज ३ घण्टा खोजी कार्य गर्दा शव फेला परेको हो ।”
शवलाई नदीले नबगाओस् भनेर जालीसमेत लगाइएको उहाँको भनाइ छ । शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।