नवराज नेपाली
बागलुङ (गलकोट), भदौ १० गते । बागलुङदेखि पाङ अदुवाबारी जोड्ने गण्डकी गोल्डेन ब्रिजको तल रहेको अकाल मन्दिरनजिक लहरै छ बङ्गुर पालन फार्म । गोर्खा घर भई बागलुङ बस्दैआएका कमलबहादुर थापा मगरले त्यही फार्ममा दैनिक व्यस्त हुने गर्नुभएको छ ।
थापासँगै अन्य ९ जनाको बङ्गुर फार्म छ यहाँ । ९ वटा फार्ममध्ये अर्को एक फार्म काठेखोला गाउँपालिका –४ तंग्रामकी मनकुमारी थापाको छ । कमल र मनकुमारीको राम्रो आम्दानीको स्रोत अहिले त्यही बङ्गुर पालन व्यवसाय हो ।
कमल युवा विदेश जाने रुचि त्यागेर यहीँ सङ्घर्ष गरिराख्नुभएको छ । मनकुमारी ज्येष्ठ नागरिक हुनुहुन्छ । तर पनि यी दुवै जना बिहान झिसमिसेदेखि नै साँझ अबेरसम्म आ–आफ्नो फार्ममा व्यस्त हुनुहुन्छ । ‘म प्रायः बिहान ६ बजेदेखि साँझ अबेरसम्म नै फार्ममा व्यस्त हुन्छु ।’ कमलले भन्नुभयो, ‘बङ्गुरलाई दाना दिनेदेखि सफा गर्ने र बङ्गुर बनाउनेसम्मको सबै काम गर्नुपर्छ ।’
३५ वर्षीय थापाले विगत ८ वर्षदेखि यहाँ बङ्गुर पाल्न थालेका छन् । यो उहाँको आम्दानीको राम्रो स्रोत मानिन्छ । उहाँकाे यो फार्ममा १७ वटा हुर्केका बङ्गुर छन् । उहाँ नेपालमा सम्भावना देखेर निरन्तर सङ्घर्षमा गरिराख्नुभएको छ । वैदेशिक रोजगारका लागि परिवारबाट केही दबाब आए पनि कमललाई वैदेशिक रोजगारप्रति रुचि छैन ।
‘वैदेशिक रोजगारका लागि जान परिवारबाट केही दबाब त आयो तर मलाई वैदेशिक रोजगारका लागि जान कहिल्यै पनि रुचि लागेन’ उहाँले भन्नुभयो –‘विदेशमाभन्दा यहीँ सम्भावना देखेर लागिरहेको छु, सक्दासम्म आफ्नै देशमा गर्ने प्रयास गर्नेछु ।’ यहाँ उत्पादित बङ्गुर बागलुङ बजारमा नै खपत हुने गर्दछ । यी फार्ममा उत्पादित बङ्गुरले मागको करिब २५ प्रतिशत आपूर्तिमा योगदान दिँदैआएको उहाँको विश्वास छ ।
उहाँको फार्मलाई स्थानीय सरकारले हटाउँछ कि भन्ने आशङ्का छ । विभिन्न बहाना बनाएर हटाउन खोजिरहेको भन्दै उहाँले आफूहरुजस्ता स्वदेशमा नै केही गर्छौँ भन्नेहरुलाई ठाउँको विकल्प देखाइदिनुपर्ने बताउनुभयो। ‘हामीलाई स्थानीय सरकारले हटाउँछ कि भन्ने आशङ्का छ’ उहाँले भन्नुभयो, ‘ यहाँबाट हटायो भने पनि नेपालमै केही गर्छौँ भनेर लागिरहेका हामीहरुलाई अन्यत्र ठाउँ देखाइदिनुपर्छ ।’ नेपालमा केही भएन भनेर विदेशिएको समयमा थापाले यहाँ बङ्गुर पालेर स्वरोजगार बनेर देखाउनुभएको छ ।
‘मलाई स्थानीय सरकारप्रति धेरै ठुलो आशा छैन । सडकदेखि फार्मसम्मको सडक राम्रो बनाइदिए हुन्थ्यो भन्ने लाग्छ’ थापाले भन्नुभयो, ‘बाटो नहुँदा दाना ल्याउन समस्या भइरहेको छ ।’