• १० भदौ २०८२, मङ्गलबार

इजरायलमा बन्धक सम्झौताका लागि प्रदर्शन, क्याबिनेट बैठकअघि दबाब

blog

तेल अभिव, भदौ १० गते । गाजाको युद्ध अन्त्य गर्दै त्यहाँ रहेका बन्धकलाई सुरक्षित फिर्ता ल्याउन मागसहित मङ्गलबार बिहान इजरायलका प्रदर्शनकारी सडकमा उत्रिएका छन् । उनीहरूले साँझका लागि तोकिएको सुरक्षा क्याबिनेट बैठकअघि सरकारलाई दबाब दिने प्रयास गरेका हुन् ।

एएफपीका पत्रकारले तेल अभिवमा प्रदर्शनकारीले सडक अवरुद्ध गरी इजरायली झण्डा फहराएको र बन्धकको तस्बिर बोकेको दृश्य देखेका थिए । यस्तै, इजरायली मिडियाका अनुसार अमेरिकी दूतावासको शाखा नजिकै र देशभरका मन्त्रीको घर अगाडि पनि र्याली भएका छन् । “टेबलमा प्रस्ताव तयार छ । हामी हाम्रा नेतालाई वार्तामा बस्न र सहमति नभएसम्म उठ्न नदिने माग गर्छौं”, अक्टोबर २०२३ मा आफ्नो छोरा अपहरणमा परेका परिवारको प्रतिनिधित्व गर्ने फोरमले विज्ञप्ति जारी गर्दै भनेको छ ।

सुरक्षा मन्त्रिपरिषद् बैठकको एजेन्डा आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन । तर स्थानीय समाचारले युद्धविराम र बन्धक मुक्तिको नयाँ वार्ताबारे छलफल हुने सम्भावना औँल्याएका छन् । मन्त्रिपरिषद्ले अगस्टको सुरुमा सेनाले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको थियो । यसले बन्धकको सुरक्षामा थप चिन्ता पैदा गरेको छ । 

पछिल्ला हप्तामा देशभर हजारौँ मानिस सडकमा उत्रिएर विरोध प्रदर्शनमा सहभागी भए । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गत हप्तामै गाजामा बाँकी रहेका सबै बन्धकको रिहाइका लागि तत्काल वार्ता सुरु गर्न आदेश दिनुभएको थियो । तर सोसँगै उहाँले गाजाको सबैभन्दा ठूलो सहर कब्जा गर्ने आक्रमण योजनालाई अझ प्रबल बनाउनुभएको थियो ।

हमासले मध्यस्थकर्ताले अघि सारेको नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको बताएकै बेला यो घटनाक्रम आएको हो । उक्त प्रस्तावअनुसार प्रारम्भिक ६० दिनको अवधिमा कब्जामा रहेका प्यालेस्टिनी कैदीको सट्टामा बन्धकको चरणबद्ध रिहाइ हुने योजना छ । रासस/एएफपी