• १० भदौ २०८२, मङ्गलबार

भेरी अस्पतालबाट निःशुल्क डायलाइसिस

blog

नेपालगन्जस्थित भेरी अस्पताल। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ १० गते। भेरी अस्पताल नेपालगन्जबाट अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने भएका छन्। यसअघि उनीहरुले पैसा तिरेर सो सेवा लिँदै आएका थिए।

स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका २०८० अन्तर्गत ती सेवाका लागि भेरी अस्पताललाई सूचिकृत गरिएसँगै सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने भएका हुन्।

अस्पताल सूचिकृत भएसँगै लामो समयदेखि डायलाइसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका उनीहरुलाई ठूलो राहात मिल्ने देखिएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बुधबारबाट सो निःशुल्क डायलाइसिस सेवा सुरु गरिने बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इन्जुरी, हेड इन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधी उपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएका थिए।

भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचिकृतको अन्तिम तयारी थालिएको सो अस्पतालले जनाएको छ।

मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि अस्पताल सूचिकृत भएमा मिर्गौला प्रत्यारोपणका बिरामीले भेरी अस्पतालबाटै सात लाख रुपियाँ पाउने छन्। सरकारले मिर्गौला प्रत्यारोपणका लागि चार लाख, औषधी खर्चवापत दुई लाख र अहिले एक लाख थप गरेसँगै उनीहरुले सात लाख पाउने भएका हुन्। महाशाखाले त्यसबारेमा भेरी अस्पतालको अध्ययन प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरिसकेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीले बताउनुभयो।

गत साउन दोस्रो साता वीर अस्पतालका युरो विभाग प्रमुख समेत रहनु भएका प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट डा.रविन बस्नेत नेतृत्वको टिमले भेरी अस्पतालको अध्ययन गरेको थियो। मानव अंग प्रत्यारोपण केन्द्रसँगको सम्झौतामा मिर्गौला प्रत्यारोपण विज्ञ डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भेरी अस्पतालमा यसअघि नै मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ।