चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १० गते । हिन्दु नारीको चाँड भनेर परिचित तिज भड्किलो बन्दै गइरहेको छ । तिज पर्वको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भएको पाइए पनि अहिले चाडभन्दा पहिलेदेखि नै दर खुवाउने चलन मौलाउँदै गएपछि तिज भड्किलो बन्दै गएको हो ।
हाल राजनीतिक दल सम्बद्ध महिला सङ्गठन, विभिन्न महिला समूह तथा संस्था, सुरक्षा निकायसहित सरकारी कार्यालय लगायतले तिजका कार्यक्रम आयोजना गर्न थालेका छन् । यसरी ताप्लेजुङमा पनि तिज चाड (पर्व) आउनुभन्दा करिब डेढ साता अघिदेखि नै तिज विशेष कार्यक्रमहरु आयोजना गर्ने चलन बढ्दै गएको छ ।
तिज नेपाली महिला अर्थात हिन्दु नारीको शक्ति, स्वतन्त्रता र संकल्पको चाड भनिए पनि तिज विशेष कार्यक्रम गर्नमा प्रतिस्पर्धा गर्ने, महङ्गो खालका परिकार खुवाउने संस्कार मौलाउँदै गएपछि चाड विकृतितर्फ गएको पाइएको छ । परम्परागत चाडमा निराहार व्रत (उपसना) बस्ने प्रचलन बिस्तारै कम हुँदै गए पनि चाड आउनुभन्दा पहिलेदेखि नै तिजको नाममा कार्यक्रम आयोजना गर्ने दर खुवाउने संस्कारले मानिसको स्वास्थ्य साथै आर्थिक अवस्थामा प्रत्यक्ष असर पु¥याइरहेको छ ।
चाडपर्वको नाममा रमाइलो गर्ने र प्रतिस्पर्धाको भावनामा दर खुवाउने र कार्यक्रमहरु आयोजना गर्नाले एकअर्कामा देखासिखी बढ्दै जाँदा यसले सर्वसाधारण महिलाहरुमा मनोवैज्ञानिक असरसमेत गरेको बताइँन्छ । महङ्गो परिकार खुवाउने र पहिरन तथा गरगहाना लगाउने चलन वा प्रतिस्पर्धाले तिज पर्व विकृत बन्दै गएको समाजका अगुवा बताउँछन् । त्यस्तै तिजका नाममा महङ्गो मूल्यको उपहार दिने चलन पनि बढेको पाइएको छ ।
समाजका अग्रज पुस्ताका नागरिकका अनुसार तिज पर्व चेली माइती, दिदी बहिनी र परिवारबिच भेटघाट हुने अवसर हो । सांस्कृतिक चाड वा परिवारबिच भेटघाट गर्ने अवसर भए पनि हाल स्तरीय होटल, पार्टी प्यालेसजस्ता ठाउँमा तिजको कार्यक्रम आयोजना गर्न थालिएकाले चाड संस्कृतिभन्दा पनि विकृतिजस्तै हुँदै गएको अगुवा पुस्ताका नागरिकहरु बताउँछन् । संस्कृतिलाई विकृति बनाउँदै लैजानु र परम्परालाई भूल्दै जानु दुःखद पक्ष भएकोभन्दै परम्परा हराउँदै गएकोमा उनीहरुले चिन्तासमेत व्यक्त गरेका छन् ।
अग्रज पुस्ताका अनुसार विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान् शिवजस्तै पति पाउँ भन्दै कामनासहित घरमै बसेर व्रत बस्ने प्रचलन थियो । घर घरमा परिवारसँग बसेर पारिवारिक गच्छे र आर्थिक अवस्थाअनुसार आ–आफ्नै शैलीमा तिज चाड मनाइने गरिएको पनि अग्रज पुस्ताका नागरिक सम्झन्छन् । आधुनिकता र देखासिखीले नै चाडपर्व विकृतमुलक र भड्किलो बन्दै गएको पाइएको छ ।
त्यस्तै तिजलाई केन्द्रित गरेर बजारमा आएका तिज गीतहरुले पनि अश्लीलता प्रदर्शन र समाज भड्काउनेजस्ता गतिविधि हुने गरेका छन् । चर्चा पाउने नाममा कतिपय कलाकारले उत्तेजक खालका गीतहरु गाएर सार्वजनिक गर्ने गरेका कारण पनि तिज पर्व विकृत बन्दै गएको समाजका अगुवा बताउँछन् । कतिपय तिज गीतको भिडियो परिवारसँगै बसेर हेर्नलाई निकै अप्ठ्यारो हुने खालकासमेत रहेको सचेत नागरिकको भनाइ छ ।
संस्कृतिको नाममा विकृति भिœयाउन नहुने र सामाजिक रहनसहनमा नकारात्मक असर पुर्याउने साथै समाज भड्काउने खालका गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको पनि समाजका अगुवा बताउँछन् । आर्थिक मितव्ययिता र मानिसले आफ्नो स्वास्थ्यसमेतलाई ख्यालमा राख्नुपर्ने आवश्यक भएकोमा उनीहरुको जोड छ ।
ताप्लेजुङमा दल आवद्ध महिला सङ्गठन, विभिन्न समूहसहित फुङ्लिङ नगरपालिका लगायतका स्थानीय तहहरुले पालिकाको बजेट नै विनियोजन गरेर तिज विशेष कार्यक्रमहरु आयोजना गरिएका छन् । चाडपर्व विशेष कार्यक्रमहरु रमाइलो भए पनि भड्किलो र प्रतिस्पर्धात्मक शैलीका बन्दै गएकाले समाजमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभावहरु पारिहेका छन् ।