• १० भदौ २०८२, मङ्गलबार

निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर

blog

काठमाडौँ, भदौ १० गते । नेपाली महिलाको महान् चाड तिज व्रतमा केही नखाई (निराहार) बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत गराइएको छ । तिजमा महिलाहरू पानीसमेत नपिएर पतिको दीर्घायुका लागि व्रत बस्ने गर्छन् । निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर गर्छ भन्दै चिकित्सकले सचेत गराएका छन् ।

वरिष्ठ चिकित्सक लोचन कार्कीले दरमा अत्यधिक खाना खाने र अर्को दिन केही नखाई निराहार व्रत बस्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने बताउनुभयो । उहाँले निराहार व्रत बस्दा शरीरका लागि आवश्यक पानी, भिटामिन, ग्लुकोज जस्ता पदार्थ अपुग भएर असर गर्ने बताउनुभयो । 

व्रत बस्दा पानी, फलफूल प्रशस्त मात्रामा खान सुझाव दिँदै उहाँले व्रत बस्ने नाममा कुनै रोग लागेको छ भने त्यसले झनै असर गर्ने बताउनुभयो । कुनै महिला ग्यास्ट्रिक, मधुमेह जस्ता रोगबाट पीडित हुनुहुन्छ भने त्यस्ता व्रतालुले चोखो खानेकुरा पर्याप्त मात्रामा खानु उपयुक्त हुने जानकारी दिँदै केही नखाई बस्दा कमजोरी हुने, चक्कर लाग्ने जस्ता समस्या देखिन सक्नेतर्फ सचेत रहन उहाँले सुझाउनुभयो ।

निराहार व्रतले रक्तचाप घटबढ हुनुका साथै रक्तचापका बिरामीलाई अझ बढी जोखिम हुन सक्ने चेतावनी उहाँले दिनुभयो । चिनीरोग भएका महिलाका लागि जटिल अवस्था आउन सक्ने भन्दै डा. कार्कीले लामो समय केही नखाँदा चिनीको मात्रा तलमाथि हुन सक्ने बताउनुभयो । उहाँले लामो समयसम्म खाली पेट बस्दा पाचन प्रणालीमा समेत असर गर्ने जानकारी दिनुभयो । लामो समयसम्म नखाँदा पेटमा एसिड बढ्ने र ग्यास्ट्रिक, अल्सर जस्ता समस्या देखिन सक्ने भएकाले अलि लामो समयसम्म खाना खाएन भने सामान्य मानिसलाई पनि समस्या हुनेतर्फ विचार पु¥याउन आग्रह गर्नुभयो । लामो समयसम्मको व्रतले अत्यधिक थकान, कमजोरी हुनुका साथै असहज हुने भएकाले कतिपय महिलामा रक्तअल्पता जस्ता समस्यासमेत हुने बताउनुभयो । 

पोषणविद् डा. उमा कोइरालाले तिजमा केही पनि नखाई व्रत बस्नु शरीरका लागि राम्रो नहुने बताउनुभयो । उहाँले दरको निहुँमा अत्यधिक खाएमा झाडापखाला हुने अर्को दिन भोकै बसे विभिन्न समस्याले सताउने जनाउनुभयो । खानपानमा विशेष ध्यान दिइएन भने त्यसले असर गर्दछ, डा. कोइरालाले भन्नुभयो, “व्रतमा पनि हल्का खाने र दरको नाममा बढी नखाँदा स्वास्थ्यका लागि फाइदा हुन्छ ।”

डा. कोइरालाले अहिले पहिले जस्तो दर नभएको बताउनुभयो । पहिले व्रत बस्ने अघिल्लो दिन मात्र दर खाने गरिन्थ्यो, डा. कोइरालाले थप्नुभयो, “अहिले एक महिनाअघिदेखि दर खाने चलनले चिनीरोग, मोटोपन, रक्तचाप जस्ता समस्या देखिन सक्छ ।”

शारीरिक रूपमा व्रतले फाइदा गरे पनि निराहार व्रत बस्न नहुने उहाँको तर्क छ । उहाँले गर्भवती, दीर्घरोगी, वृद्धवृद्धाले व्रत नबस्नु नै उपयुक्त हुने र बसे पनि फलफूल तथा हल्का खाना खान सकिने बताउनुभयो । शरीरलाई प्रतिकूल असर पु¥याउने भएकाले खानपानमा सन्तुलन बनाउनुपर्ने उहाँको भनाइ छ । फलफूल, दुध हल्का खालको भोजन गरेर व्रत बस्नुपर्ने उहाँको भनाइ छ । स्तनपान गराइरहेका महिलालाई पनि निराहार व्रत बस्दा दुध नआउने र शिशुलाई समेत त्यसले असर गर्ने बताउनुभयो । 


Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।