• १० भदौ २०८२, मङ्गलबार

टी–२० अभ्यास खेलमा नेपालको दोस्रो जित

blog

नेपाली टोली । तस्बिर : क्यान

काठमाडौँ, भदौ १० गते । नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाउनुभयो । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाउनुभयो । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाउनुभयो । ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले १५/१५ रन बनाउनुभयो । जेक स्मिथले १० रन जोड्नुभयो । 

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले चार चार तथा कप्तान रोहितकुमार पौडेल र गुलसन झाले एक एक विकेट लिनुभयो । 

यसअघि पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ४१ रनले विजयी भएको हो । जितका लागि एक सय ७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

टप एन्ड टी–२० सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपालले स्थानीय टोलीसँग अभ्यास खेल खेलेको हो ।