चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १० गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा कार्यालयको सेवाप्रति नागरिकले प्राप्त गरेको सन्तुष्टिलाई थप व्यवस्थित गर्दै प्रभावकारी सेवा प्रवाह गर्ने प्रजिअ सेढाइँले प्रतिबद्धता जनाउनुभएको हो ।
गृह मन्त्रालयबाट सरुवा भई सोमबार मात्र ताप्लेजुङ आइपुग्नुभएका प्रजिअ सेढाइँले सङ्घीय सरकारको प्रतिनिधि प्रशासकको भूमिकामा रहँदै सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्नो पहल रहने बताउनुभयो । उहाँले प्रभावकारी सेवासँगै कानुन र आदेशको कार्यान्वयन गर्ने विषयमा कुनै सम्झौता नहुने पनि उल्लेख गर्नुभयो ।
काम नपर्खौ, गरिहालौं भन्ने भावनासहित सबै पक्षसँग सहकार्य गरेर सेवा प्रवाहप्रति जिम्मेवार रहने पनि उहाँले बताउनुभयो । सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारबिच समन्वय र सहकार्य गरेरै विकास र सुशासनलाई प्राथमिकता दिँदै जिल्लाको समग्र शान्ति सुव्यवस्था कायम गर्नमा पनि आफ्नो पहल रहने प्रजिअ सेढाइँको भनाइ छ।
उहाँले आर्थिक तथा सामाजिक विकासका काममा पनि सहजकर्ताको पमा भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा, सामाजिक सद्भाव, विकास निर्माणमा सहजीकरण तथा समन्वयको कार्यमा बन्ने योजनालाई कार्यान्वयन गर्ने विषयमा अधिकतम समय र जोड दिने पनि उहाँले बताउनुभयो ।
उहाँले स्थानीय सञ्चारकर्मीलाई विकास पत्रकारिता गर्न सुझाव पनि दिनुभयो । समाज सुधार र परिवर्तनको क्षेत्रमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहने भएकाले पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सूचना उपलब्ध गराउने विषयमा कुनै कन्जुस्याइँ नहुने जिल्लास्थित अन्य सरकारी कार्यालयसँग आवश्यकता अनुसार समन्वय गरिदिने उहाँले बताउनुभयो ।