• १० भदौ २०८२, मङ्गलबार

रसुवा–तातोपानी नाका तुरुन्त खोल्न चेम्बरको माग

blog

काठमाडौं, भदौ १० गते । नेपाल चेम्बर अफ कमर्सले गत असारमा आएको भारी वर्षा र बाढीका कारण अवरुद्ध भएका रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । 

यो पनि पढ्नुहोस

कोदारी खण्ड फेरि अवरुद्ध : पन्ध्र मिटर सडक भासियो

नेपाल–चीनबीचको व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने यी दुई नाकाहरु नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र आयात-निर्यात प्रणालीमा गम्भीर समस्या देखिएको भन्दै चेम्बरले तत्काल पुनर्निर्माणको पहल गर्न सरकारसमक्ष आग्रह गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वका बेला उद्योगी, व्यवसायी तथा आम उपभोक्ता प्रत्यक्ष प्रभावित भएको र यसले मूल्यवृद्धिमा समेत असर गर्ने भएकाले सरोकारवाला परराष्ट्र मन्त्रालय, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ध्यानाकर्षण गराइएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तु, कच्चा पदार्थ र अन्य आवश्यक सामग्रीहरुको आयात अवरुद्ध भएकाले बजारमा सम्भावित अभाव सिर्जना हुने जोखिम बढेको चेम्बरले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘‘दशैँ, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदैछन् । अवरुद्ध भएका तातोपानी र रसुवा नाका समयमा पुनर्निर्माण सम्पन्न नहुँदा आयात प्रत्यक्ष प्रभावित भएको र यसले उपभोक्तामाथि अतिरिक्त आर्थिक बोझ पर्न सक्ने देखिन्छ ।’’

चीनसँग जोडिएको महत्वपूर्ण नाकाहरू लामो समय बन्द हुँदा वैदेशिक व्यापार मात्र होइन, साना उद्योग र व्यावसायिक प्रतिष्ठान पनि सङ्कटमा परेका छन् । चीनबाट आउने इलेक्ट्रोनिक्स, लत्ताकपडा, फलफूल, खाद्यान्न, औषधि र अन्य दैनिक प्रयोगका सामग्रीहरू रोकिन पुगेको चेम्बरले जनाएको छ ।

महत्वपूर्ण व्यापारिक नाका खुलाउने विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग सहकार्य गरी तत्काल पहल गर्नुपर्नेमा चेम्बरले जोड दिएकाे छ ।