काठमाडौँ, भदौ १० गते। सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएको छ। उहाँले सभापति पदबाट विशेष कारण देखाउँदै राजीनामा दिनुभएको हो।
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको भन्दै उहाँले सभामुख देवराज घिमिरेसमक्ष राजीनामा बुझाउनुभएको हो।
नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाए लगत्तै उहाँको राजीनामा आएको हो। कर्मचारीसम्बन्धी विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानको विवादमा नाम जोडिएपछि यसअघि समिति सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको थियो।