• १० भदौ २०८२, मङ्गलबार

नेपाल‐भारत सुरक्षाकर्मीको बैठक सम्पन्न

blog

बैठकपछिको सामूहिक तस्बिर । तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल नेपाल

कृष्णबहादुर धामी

दार्चुला, भदौ १० गते । नेपाल‐भारतका सुरक्षाकर्मीबिच भएको डिआइजी स्तरीय सीमा समन्वयात्मक बैठक दार्चुलाको खलङ्गामा सम्पन्न भएको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजीस्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपती देवराज जोशीले जानकारी दिनुभयो । 

बैठकमा दुवै पक्षले आ–आफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरिएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसार‐पसार, मानव बेचबिखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रण गर्न सघन सहकार्य गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

बैठकमा सीमा क्षेत्रमा घट्न सक्ने विभिन्न आपराधिक गतिविधिको बारेमा विभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमास्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना कार्यलाई अघि बढाउन सम्बन्धित कार्यालयहरुमा प्रतिवेदन गर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्न गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । 

यस्तै, दुवै पक्षले नियमित सम्पर्क गर्ने, समय–समयमा समन्वयात्मक बैठकहरूको निरन्तरता दिने र नेपाल–भारत सीमाक्षेत्रमा शान्ति, सुरक्षा तथा सौहार्दपूर्ण वातावरण कायम राख्न आ–आफ्नो तर्फबाट भरमग्दुर प्रयत्न गर्ने सहमति भएको बताइएको छ । 

बैठकमा नेपालबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदिपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपती, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपती र भारतबाट अल्मोडाका डिआइजी सुधांशु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत दश जनाको सहभागिता रहेको गणपति जोशीले जानकारी दिनुभयो ।