मोरङ, भदौ १० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हरितालिका तीज पर्वले उत्साह, उमङ्ग र सामाजिक एकता बढाउने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो पर्वलाई केवल धार्मिकमात्र नभई महिलाको अधिकार, समता र आत्मसम्मानको प्रतीकका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ ।
उहाँले तीज पर्वले हाम्रो संस्कृति, परम्परा र पारिवारिक एकतालाई बलियो बनाउने चर्चा गर्दै अवसरमा आपसी सद्भाव, पारस्परिक सहयोग र सामाजिक एकता मजबुत पार्न सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सन्देशमा भनिएको छ ,“स्वास्थ्य, शान्ति र सौहार्द कायम राख्दै समानता र महिलाको सशक्तीकरणतर्फ अघि बढ्न यो पर्वले प्रेरणा दिनेछ । प्रदेश सरकारले संविधान प्रदत्त महिला हकअधिकार कार्यान्वयन गर्न प्राथमिकता दिएको छ । महिलाको हित प्रवर्धनका कार्यक्रमलाई निरन्तर अघि बढाएको छ । बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुकका सबै पर्व र संस्कारलाई संरक्षण गर्नुपर्छ ।” रासस