• १० भदौ २०८२, मङ्गलबार

ठेकेदारको बदमासीले मलङ्गवामा बनेन हुलाकी सडक

blog

मलङ्गवा बजारमा अलपत्र हुलाकी सडक । तस्बिर : गोरखापत्र

जनार्जन खत्री

सर्लाही, भदौ १० गते । स्थानीय पटक–पटक आन्दोलित हुँदा पनि सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वपश्चिम हुलाकी सडकको निर्माण कार्य अझै अलपत्र छ । 

एक महिनाअघि स्थानीय युवा र महिलाले धुलाम्मे अवस्थामा रहेको हुलाकी सडक कालोपत्रे गर्न माग गर्दै चक्काजाम गरेका थिए । त्यसबेला निर्माण व्यवसायीले तत्काल कालोपत्रेको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ठेकेदारले यो पटक पनि बदमासी गरेर कामै नगर्दा सडकको धुलोले बस्न नसक्ने अवस्था सिर्जना भएको स्थानीय नागेन्द्र चौधरीले गुनासो गर्नुभयो । मलङ्गवा बजार क्षेत्रको सडक कालोपत्रे गर्ने जिम्मेवारी हिमडुङ एण्ड ठोकर÷हीरा एण्ड नमिता जे.भि.ले पाएको छ । 

निर्माण व्यवसायीलाई हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरले बारम्बार पत्र काटेर सडक कालोपत्रेको काम सक्न दबाब दिँदै आएको छ । स्थानीयले समेत दर्जनौँ पटक चक्काजाम र टायर बालेर प्रदर्शन गरिसकेका छन् । 

स्थानीय प्रदर्शनमा उत्रिएपछि निर्माण व्यवसायीले यो मितिमा काम सक्छु भनेर थामथुम पार्ने गरेका छन् । त्यसरी धेरै पटक मिति गुज्रिसकेको तर काम नभएको अर्का स्थानीय शिवचन्द्र चौधरीले बताउनुभयो । 

सडक कार्यालयले पत्र काट्ने, जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारीलगायतले बारम्बार ताकेता गर्दा पनि सडक निर्माण नगरेर ठेकेदारले स्थानीयको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको चौधरीले गुनासो गर्नुभयो । सर्लाहीमा मलङ्गवाको मुख्य बजार क्षेत्र, मुसैली गाउँबाहेक अन्यत्र पूर्वपश्चिम हुलाकी सडक कालोपत्रेको काम भइसकेको छ । 

स्थानीय युवा सोहन झाले अब आफूहरु पुनः आन्दोलनको तयारीमा जुटेको बताउनुभयो । अब त सडक कालोपत्रे नहुन्जेल यातायात नै सञ्चालन हुन नदिने गरी कडा किसिमको आन्दोलनको तयारीमा रहेको झाको भनाइ छ । 

सडक कालोपत्रेका लागि ठेकेदारले बाम्बार म्याद थपाएर काम नगर्ने प्रवृत्ति दोहोरिएको छ । हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका इन्जिनियर रन्जित यादवले ठेकेदारले सुस्त गतिमा काम गरेकाले कालोपत्रेको काम सक्न ताकेता जारी राखेको बताउनुभयो ।