• १० भदौ २०८२, मङ्गलबार

उत्तरी गोरखामा गाडी नचल्दा खाद्यान्न ढुवानीमा समस्या

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ १० गते । उत्तरी गोरखाको सबैभन्दा विकट हिमालपारिको गाउँपालिका धार्चे र चुमनुब्री गाउँपालिकामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ । बर्खा लागेसँगै असारदेखि भदौको पहिलो हप्तासम्म गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो । 

गोरखा सदरमुकामदेखि भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका–३ सोतिसम्म जसोतसो सडक राम्रो भए तापनि त्यसभन्दा माथि सडक भासिने, भिरालो जमिन, साँघुरो सडक हिलाम्मे हुँदा गाडी नै गुड्न नसक्ने अवस्थामा रहेको दरौदी यातायात कम्पनी प्रालिका अध्यक्ष दीपक बोहराको भनाइ छ । 

सडक सञ्चालनमा नआउँदा उत्तरी गोरखाका स्थानीयहरु बजारबाट सामानहरु मान्छे लाएर बोक्नुपर्ने अवस्था आएकाले निकै सास्ती बेहाेर्नुपरेकोे धार्चे गाउँपालिका–५ व्यापारी सुकबहादुर गुरुङले बताउनुभयो । 

उत्तरी गोरखाबासीहरुलाई किन बर्खा लाग्छ जस्तो लाग्छ,  व्यापारी सुकबहादुर गुरुङले भन्नुभयो, ‘‘यस्तो विकट ठाउँमा छौं, जहाँ एक बोरा चामल ल्याउन दिनभर लाग्छ, गाउँमा कोही बिरामी भए हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता आउँछ जसले गर्दा सडक राम्रो भए कम खर्चमा खाद्यान्न ढुवानीका साथै कम खर्चमा गोरखा सदरमु्कामदेखि काठमाडौसम्म यात्रा गर्न कम खर्चमा आवतजावत हुन्छ ।’’

उत्तरी गोरखा पुग्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक दुई महिनादेखि अवरुद्ध भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘‘बर्खा सकिएसँगै पालिकाको सहयोगमा सडक मर्मत गरी उत्तरी गोरखाबासीको समस्या हल हुने गरी सडक खुल्छ ।’’

धार्चे र चुमनुब्री गाउँपालिकाका अधिकांश स्थानमा बाढी र पहिरोले क्षति पुर्‍याउँदा उत्तरी गोरखा पुग्ने अधिकांश सवारी साधन तथा पैदल यात्रीहरुलाई सडक यातायात सञ्चालनमा नआउँदा उत्तरी भेगका आम नागरिक तथा आन्तरिक तथा बाह्य पर्यटकलाई समेत प्रभाव परेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।  

उत्तरी गोरखामा परेको अविरल वर्षाले सडक अवरुद्ध भएपछि  अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारणले सास्ती बेहाेर्नु परेको छ । 

धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “अहिले त्यस सडक क्षेत्रमा बाटो निर्माण गर्न धार्चे गाउँपालिकाको पहलमा जेसिबी प्रयोग गरी अबको केही दिनमा सडक सुचारु गरी खाद्यान्न ढुवानी गरेर सम्बन्धित ठाउँमा पुग्छ ।”