हुम्ला समाचारदाता
हुम्ला, भदौ १० गते । जिल्लाको सर्केगाड गाउँपालिकामा आयोडिनयुक्त नुनको अभाव देखिएको छ । अभाव भएपछि स्थानीय उपभोक्ता हाल प्रतिकेजी ५५ रुपियाँ तिरेर नुन खान बाध्य भएका छन् ।
बजारमा व्यापारीले ल्याएको आायोडिनयुक्त नुन प्रतिकेजी ५५ रुपियाँमा खरिद गरेर उपभोग गरिरहेको सर्केगाडका स्थानीय वसन्ती शाहीले बताउनुभयो । पहिले ढुवानी अनुदानको नुन थोरै पाएको र त्यो सकिएपछि सात महिनादेखि महँगो मूल्यको नुन खरिद गरी उपभोग गरिरहेको उहाँले बताउनुभयो । जिल्लाभर सस्तोमा नुन उपभोग गर्ने कुरा बाहिर आए पनि आफुहरू बर्सेनि महँगो नुन उपभोग गरिरहेको बताउँदै उहाँले सरकारले पनि आवश्यकता अनुसार नुनको कोटा निर्धारण गर्नुपर्ने माग गर्नुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले एक वर्षका लागि निर्धारण गरेको कोटाको नुन अपुग भएपछि हाल नुन अभाव भएको सर्केगाड गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर छत्यालले बताउनुभयो । लिमिटेडले हुम्ला जिल्लाका लागि ढुवानी अनुदानमा नुन उपलब्ध गराउँदै आए पनि त्यो अपुग हुने गरेको उहाँले जनाउनुभयो । सो नुनको मूल्य प्रतिकेजी नौ रुपियाँ पर्ने गर्छ । हाल बजारको मूल्यमा बिक्री भइरहेको नुन पाँच गुणा बढी मूल्य तिरेर उपभोक्ताले खरिद गर्नु परिरहेको छ । गत आवमा लिमिटेडले सर्केगाड गाउँपालिकाका लागि नौ सय क्विन्टल नुनको कोटा निर्धारण गरिएबमोजिम सबै नुन ढुवानी भएर आइपुगेको र त्यसलाई जनसङ्ख्या अनुसार प्रत्येक वडामा ४७ देखि ५५ क्विन्टलसम्म वितरण गरिएको जानकारी उहाँले दिनुभयो ।
वडालाई प्राप्त नुन प्रतिघरधुरी १५ केजीका दरले बिक्री गरिएको बताउँदै उहाँले यति नुन एक घरधुरीका लागि वार्षिक रूपमा पर्याप्त नभएको जनाउनुभयो । लिमिटेडको नुन नपाइएपछि उपभोक्ता महँगो मूल्यमा नुन खरिद गर्न बाध्य भएको वडा नं. ३ का वडाध्यक्ष अकिल कार्कीले बताउनुभयो । लिमिटेडबाट ढुवाानी अनुदानमा नुन दिएको देखिने तर उपभोक्ताले नुन अपुग भएपछि महँगो मूल्यमा खरिद गरेर प्रयोग गर्नु दुःखद भएको उहाँले उल्लेख गर्नुभयो ।
जनसङ्ख्या अनुसार लिमिटेड केन्द्रबाट निर्धारित कोटा ठिकै भए पनि व्यावहारिक रूपमा नुनको समस्या देखिएको लिमिटेड शाखाका प्रमुख राजबहादुर लामाले बताउनुभयो । सर्केगाड गाउँपालिकाको जनसङ्ख्या १० हजार ६८८ रहेको छ । उहाँले गाउँपालिकाका मानिसले मात्र सो नुन उपभोग नगरेर पशुवस्तु र भेडाबाख्राका लागि पनि प्रयोग गरिने भएका कारण नुन अभाव हुनु स्वाभाविक भएको बताउनुभयो ।