काठमाडौँ, भदौ १० गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलामाथि हुने विभेद, हिंसा र कुरीतिको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्ने प्रेरणा दिने बताउनुभएको छ ।
हरितालिका तीज पर्व २०८२ का अवसरमा सामाजिक सञ्जालमार्फत उहाँले जारी गर्नुभएको शुभकामना सन्देशमा सबै दिदीबहिनीलई शुभकामना व्यक्त गर्दै तीजले सामाजिक-सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सन्देशमा तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँच र सशक्तीकरणलाई प्रोत्साहित गर्छ भन्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा तीज पर्वले हाम्रो जीवनशैली, संस्कृति र सहिष्णुताको उज्ज्वल परम्परा बोकेको उल्लेख गर्नुभएको छ । उहाँले विवाहिता महिलाले आफ्ना जीवनसाथी तथा परिवारको सुस्वास्थ्य, दीर्घायु र कल्याणको कामना गर्दै व्रत बस्ने धार्मिक आस्था यस पर्वसँग गहिरोरूपमा जोडिएकोे छ भन्नुभयो ।
“विवाहपश्चात् महिलाले जन्मघर छाडेर कर्मघरमा जीवन बिताउँदा उत्पन्न हुने भावनात्मक दूरीलाई कम गर्ने अवसरका रूपमा पनि तीजलाई लिइन्छ”, उहाँले सन्देशमा भन्नुभएको छ, “यस पर्वले चेली र माइतीबिचको आत्मीयता, परिवार र साथीसँगीबिचको न्यानो सम्बन्ध तथा समाजभित्रको भावनात्मक एकतालाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ ।”
उहाँले तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने बताउनुभएको छ । उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, “पछिल्ला वर्षमा तीज पर्व मनाउने क्रममा देखिएको केही भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय बनेको छ । तसर्थ, हामी सबैले यस पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मूल्यलाई संरक्षण गर्दै, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउन प्रयास गर्नु आवश्यक छ ।” रासस