• १० भदौ २०८२, मङ्गलबार

खेती जोगाउन त्रिपन्न जना हेरालु

blog

फाइल तस्बिर

तम्घास समाचारदाता

तम्घास (गुल्मी), भदौ १० गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खेतीपाती जोगाउन ५३ जना हेरालुको व्यवस्था गरेको छ । बाँदर, बँदेल, दुम्सीलगायतका वन्यजन्तुले खेतीपाती नष्ट गर्न थालेपछि खेतीपाती संरक्षणका लागि हेरालुको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार बालीनाली संरक्षण गर्न प्रतिहेरालु मासिक १७ हजार रुपियाँका दरले पारिश्रमिक प्रदान गर्ने गरी हेरालुको व्यवस्था गरिएको हो । स्थानीय रोजगारीसम्बन्धी कार्यविधि, २०८१ अनुसार ५३ जना हेरालु राखिएको उहाँको भनाइ छ । हेरालुले वडा कार्यालयको मातहतमा रहेर खेतीपाती संरक्षण गर्ने गरेका छन् । यसले गर्दा कृषकलाई ठुलो राहत मिलेको गाउँपालिकाले जनाएको छ ।  

जङ्गली जनावरले खेतीपाती जोगाउनै समस्या भइरहेको समयमा पालिकाले हेरालुको व्यवस्था गर्दा आफूहरूलाई ठुलो राहत मिलेको यहाँका कृषकले बताएका छन् । रुरुक्षेत्र गाउँपालिका–६, बम्घाका कृषक विष्णुप्रसाद ज्ञवालीले पालिकाले खेतीपाती संरक्षणका लागि हेरालुको व्यवस्था गर्दा स्थानीय सरकारको अनुभूति आफूहरूले पाएको बताउनुभयो । उहाँले विगत वर्षमा मकैलगायतको खेती जोगाउनै मुस्किल हुने समयको स्मरण गर्दै अहिले भने पालिकाले हेरालुको व्यवस्था गर्दा आफूहरूलाई ठुलो राहत मिलेको बताउनुभयो । उहाँले मकै खेती पनि पाक्ने समय भएकाले ढुक्कसँग खेती भिœयाउन पाउने आफूले विश्वास लिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले स्थानीय सरकार जनताको समस्या समाधान गर्न सदैव लागिपरेको बताउनुभयो । उहाँले जङ्गली जनावर मार्नका लागि कानुनले बन्देज गरेको बताउँदै खेती संरक्षणका लागि धपाउनुबाहेक अन्य विकल्प नरहेको बताउनुभयो । पालिकाले स्थानीय रोजगारीसम्बन्धी कार्यविधि नै बनाएर लागु गरेकाले रोजगारीको पनि व्यवस्था हुने र गाउँलेको समस्या समाधान हुने उहाँको भनाइ छ । यसका साथै आवश्यकताका आधारमा कार्यपालिकाको निर्णय अनुसार अन्य क्षेत्रमा कामदारलाई लगाउन सकिने गाउँपालिकाले जनाएको छ ।