बुटवल समाचारदाता
बुटवल, भदौ १० गते । पाँच सय वर्षअघि विक्रम संवत् १५७५ मा बुटवलको मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा निर्माण भएको सेनवंशीय राजा मणिमुकुन्द सेनको ऐतिहासिक दरबार सङ्ग्रहालय पुनर्निर्माण गरिने भएको छ ।
उक्त दरबार क्षेत्र अहिले भग्नावशेषमा परिणत भएको छ । दरबारका केही भाग मात्रै ठडिएको अवस्थामा छ । ऐतिहासिक महत्व बोकेको उक्त दरबारको भग्नावशेषलाई सम्बन्धित निकायले उचित संरक्षण गर्न नसकेको गुनासो सुनिँदै आएको थियो ।
पाल्पाली सेनवंशीय राजा मणिमुकुन्द सेन १५औँ शताब्दीमा पाल्पाबाट जाडो छल्न यही बुटवलको फूलबारीमा आउने गरेको र फूलबारीमा दरबारसमेत बनाएको इतिहासमा उल्लेख छ ।
सङ्घीय सरकारबाट विनियोजन गरिएको तीन करोड रुपियाँ बजेटबाट सेनकालीन मणिमुकुन्द सेन दरबार सङ्ग्रहालय पुनर्निर्माण हुने भएको हो ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले गएको साता मात्रै पुरातत्व विभागका सहसचिव भाष्कर ज्ञवालीलगायत इन्जिनियर र मणिमुकुन्द सेन उद्यान संरक्षण समितिबिच दरबार पुनर्निर्माणका विषयमा छलफल भएको बताउनुभयो ।
बुटवलको सेनकालीन राजाको इतिहाससँग जोडिएको मणिमुकुन्द सेन उद्यान (फूलबारी) क्षेत्रभित्र पर्ने उक्त दरबार सङ्ग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
पुरानो ऐतिहासिक पृष्ठभूमि बोकेको सेनवंशीय दरबार र अङ्ग्रेजहरूमाथि विजय हासिल गरेको ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी २०५३ सालमा बुटवल उपमहानगरपालिकाले सेनवंशीय प्रतापी राजा मणिमुकुन्द सेनको स्मृतिमा उद्यान प्रारम्भ गरेको हो ।
मणिमुकुन्द सेन दरबारदेखि पूर्व करिब आधा किलोमिटरको दुरीमा अङ्ग्रेजलाई परास्त गरेको जितगढी (कर्णेल उजिरसिंह गढी) किल्ला छ । दरबारदेखि जितगढीसम्म सुरुङ मार्ग भएको र युद्धमा नेपालीका तर्फबाट नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाले नुवाकोटदेखि मणिमुकुन्द सेन दरबार हुँदै सोही सुरुङमार्गबाट जितगढीमा झरेर नेपाली पक्षको कमान्ड समालेको इतिहासमा उल्लेख छ ।
फूलबारीमा गत आव २०८१÷८२ मा पाँच लाख ४७ हजार पर्यटकले भ्रमण गरेका थिए । फूलबारी आएका पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या २० प्रतिशत छ । उद्यानका अध्यक्ष नेपालले फूलबारीलाई व्यवस्थित गरी अझै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन थप पूर्वाधार निर्माणको काम गर्ने योजना रहेको बताउनुभयो ।