शेरबहादुर सार्की
बाजुरा, भदौ १० गते । जिल्लाको निकै दुर्गम गाउँमा पर्छ विच्छ्या । त्यसैमा छ विच्छ्या मावि । यो ठाउँ भौगोलिक रुपमा निकै विकट छ ।
यही विकटताका कारण यहाँको विद्यालयले लामो समयदेखि विद्यालय भवन खानेपानी फिल्ड लगायतका भौतिक पूर्वाधारको अभाव झेल्दै आएको थियो ।
२०७५ सालपछि यहाँका स्थानीय तहले सो विद्यालयको भौतिक पूर्वाधार खेलमैदान तथा बालबालिकाहरुको गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी विषयगत शिक्षकको राम्रो व्यवस्था गरेसँगै पछिलो समय यो विद्यालयले मुहार फेर्न सफल भएको थियो ।
साउन २८ गते राती विच्छ्यामा आएको बाढी यो विद्यालयमा पसेपछि अहिले यहाँका शिक्षकलाई विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता परेका छ । उसो त यहाँका ४१ घर परिवार पनि अहिले खुल्ला आकाशमुनि त्रिपालको सहारा लिएर बास बस्ने गरेका छन् ।
यहाँका शिक्षकलाई पनि अहिले बालबालिकाहरुलाई त्रिपालको सहारामा पढाउनुपर्ने अवस्था आएको छ । बर्खाको समय पानी पर्ने हिउँदको समय हिउँ पर्ने भएकोले निकै चिसो हुन्छ । त्यो चिसोमा बालबालिकाहरुलाई बाहिर राखेर पढाउन शिक्षकलाई निकै समस्या भएको छ ।
यहाँ पहिला पढ्ने विखर्थीहरुलाई बस्ने राम्रो भवन र कक्षा कोठा थिएन भन्थ्ये । अहिले हामीलाई पढने राम्रो कक्षा कोठा बस्ने बेन्च र खेल्नका लागि राम्रो खेलमैदान थियो ।
गत साउन २८ गते राती आएको बाढीले विद्यालय बगर बनाइदिएपछि अहिले हाम्रो अवस्था पनि पहिलाकै विद्यार्थीका जस्तो भएकोे हिमाली गाउँपालिका–१ विच्छ्याका कक्षा कक्षामा पढ्ने सोनाम थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले पानी पर्छ भिजाउँछ । हिउँदमा बाक्लो हिमपात पर्छ । त्यसले निकै चिसो हुन्छ । सरकारले चाँडो हाम्रो विद्यालय निर्माण नगरेपछि हाम्रो पढाइमा भने निकै समस्या हुनेभयो ।’’
हामी दुर्गमका बालबालिकाहरुको यो पीडा केन्द्रका नेताले बुझे हाम्रो पढाइ हुन्छ । उहाँहरुले नबुझ्ने हाे भने हाम्रो पढाइ बिग्रिन्छ । त्यसपछि छोडेर भारतमा नाेकरी जानुको केही विकल्प नभएको थापाले बताउनुभयो ।
बाढीका कारण विद्यालय तहसनहस भएपछि यतिबेला यहाँका बालबालिकाहरुलाई पढाउँन समस्या भएको हिमाली गाउँपालिका–१ विच्छ्या माविका प्रधानाध्यापक चन्द्रजङ्ग रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँ विद्यार्थीको सङ्ख्या कम थियो । अहिले यहाँका भौतिक शैक्षिक क्षेत्रमा सुधार आएपछि विद्यार्थी पनि बढ्दै गएका थिए ।”
पहिला कक्षा एकदेखि दशसम्म सय जना हुने ठाउँमा अहिले छात्र ९० र छात्रा १०५ गरी १९५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय बगर बनेपछि यतिबेला यी बालबालिकाहरुलाई कहाँ लगेर पढाउने निकै चिन्ता लागेको प्रधानाध्यापक रोकायाले बताउनुभयो ।
भौगोलिक विकटताका कारण यहाँका विद्यालयको अवस्था दयनीय थियो । २०७५ सालदेखि बल्ल विद्यालयको अवस्था सुधार गरेका थियौं । गत साउन २८ गते राति परेको अविरल वर्षातका कारण विद्यालयमा आएको बाढीले बगर बनाइदिएपछि अहिले फेरि यसलाई पुनः सुधारमा ल्याउन निकै समस्या भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भननुभयो, “अहिले यसलाई पुरानै अवस्थामा ल्याउन पालिकाको सामर्थ्यभन्दा बाहिर छ । त्यसैले यसका लागि ठुलो रकमको आवश्यक छ ।”
यसका लागि प्रदेश तथा सङ्घीय सरकारले आर्थिक सहयोग गरी दुर्गममा रहेका बालबालिकाहरुलाई शिक्षा पाउनबाट वञ्चित नहुने गरी आर्थिक सहयोगको अपेक्षा गरिएको मल्लले बताउनुभयो ।