• १० भदौ २०८२, मङ्गलबार

खानेपानी आएपछि स्थानीय हर्षित

blog

जुम्ला समाचारदाता 

जुम्ला, भदौ १० गते । खानेपानीको अभाव भोगिरहेको यहाँको तिला गाउँपालिका–१, रारागाउँमा अहिले खानेपानी पुगेको छ । रारागाउँमा खानेपानी पुगेपछि स्थानीयलाई निकै सहज भएको छ । स्थानीय वीरबहादुर बुढाका अनुसार रारागाउँका तीन सय घरधुरी र सेरीगाउँका ३० गरी ३३० घरधुरीमा खानेपानीको चरम अभाव भइरहेको थियो । अब गाउँमा पर्याप्त खानेपानी पुगेकोमा उहाँले खुसी व्यक्त गर्दै अब सहज भएको जनाउनुभयो । अहिले छ सेकेन्डमा १० लिटर बराबर पानी आइरहेको बताइएको छ । 

पानीको मुहान अभाव भएको रारागाउँमा पाइपलाइनबाट झन्डै २१ किमी पार गरेर तिला नदी पार गर्दै गाउँमा खानेपानी आउन सफल भएको हो । पानीको मुहान नहुँदा गाउँमा खानेपानी ल्याउन कठिन थियो । यस गाउँको दशकौँदेखिको सपना बल्ल यस पटक पूरा भएको हो । धारा निर्माण गर्न बाँकी रहे पनि स्थानीयले अहिले पाइपबाटै आएको पानी खान सुरु गरिसकेका छन् । 

उक्त वडामा खानेपानीको मूल नहुँदा वडा नं. ९ को सडीगाउँले मूल दिएपछि गाउँपालिकाले खानेपानीको प्रस्ताव अगाडि बढाएको थियो । जुम्लाका प्रतिनिधि सभा सांसद छिरिङल्हामु लामा तामाङले गाउँपालिकाको माग अनुसार राष्ट्रिय योजना आयोगले रारा खानेपानीलाई प्रथामिकता दिएकोमा अहिले गाउँमा पानी पुग्न सफल भएको बताउनुभयो । तिला गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर धनप्रसाद चौलागाईंका अनुसार रारागाउँमा उक्त खानेपानी आयोजनाको भ्याटसहित पाँच करोड ९१ लाख रुपियाँको टेन्डर आह्वान भएको थियो ।

निर्माण कम्पनी शिवदुती–सुलोचना–बाजु जेभीसँग चार करोड चार लाख ३६ हजार ७७ रुपियाँमा तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो । सो काम अनुसार गाउँमा पानी पुगेको छ तर तेस्रो वर्षमा घर घरमा धारा निर्माणसहितका काम गर्न बाँकी छ । रारागाउँमा स्थानीय सरकार आउनेबित्तिकै खानेपानीको काम थालेको थियो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकाया अनुसार सङ्घीय सरकार र गाउँपालिकाको सहयोगमा खानेपानी योजना शिलान्यास गरेको बताउँदै अहिले पानी आएपछि सहज भएको जनाउनुभयो ।