• १३ वैशाख २०८१, बिहिबार

समालोचकका आँखामा ज्ञान उदास

blog

गोविन्दबहादुर कुँवर 

 ‘के हो के हो, जिन्दगानी, 

कर्कलाको पानी 

अप्ठेरोमा हाँसी बाँच्नु नै 

हो जिन्दगानी’


‘मैले तिम्रो गमलाको 

फूल चोरेँ 

पूर्णिमाको दिन तिम्रो 

आँखाको जून चोरेँ 

चोर्ने बानी लागिसकेछ 

अब त 

मध्यरातमा एक दिन 

तिम्रो मन चोरेँ’


‘हाम्रो कोसेली 

फोहरको आहाल 

नयाँ नेपाल’ 


‘पुरानै छन् 

आन्द्रा भुँडीका पेच 

देश हाँक्नेको 

खुइले तालु 

ओजनदार गुदी 

अभि सुवेदी’

०००

सडक र सडकको 

वरपर उभिएर 

बाटो र बाटोको चारैतिर 

उभिएर 

केही दिएर आउँछ कि 

कसैलाई 

यस्तै यस्तै अभिलाषाहरू 

लिएर 

कोही लिएर जान्छ कि 

हामीलाई 

आफ्नै आफ्नै 

पीर मर्काहरू बोकेर...... 


(हामी बस पर्खिरहेका छौँ– बस !) 

 

माथिका गीत, मुक्तक, हाइकु र कविताका स्रष्टा कवि ज्ञान उदासका हुन् भनिरहन नपर्ला ! ‘कवि ज्ञान उदास : समालोचकको आँखामा’ कृतिका सम्पादक प्रा.डा.कृष्णप्रसाद दाहाल हुनुहुन्छ । प्रस्तुत कृति सुन्दर कविता लेख्ने प्रिय कवि ज्ञान उदासको समग्र काव्य यात्रा माथिको अनुसन्धानमूलक समालोचना हो । यसको प्रकाशन समकालीन साहित्य प्रतिष्ठान, बेलायतले वि.सं. २०७८ मा गरेको देखिन्छ । ३७२+४ पृष्ठको भूगोलमा फैलिएको यस कृतिको मूल्य रु. ६००/– रहेको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायतका अध्यक्ष कृष्ण बजगाईंले प्रकाशकका तर्फबाट भन्नुभएको छ– कविता, मुक्तक, हाइकुमा विशेष कलम चलाउनु हुने बहुआयामिक व्यक्तित्वका धनी ज्ञान उदासका बारेमा लेखिएको महìवपूर्ण कृति प्रकाशन गर्न पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ । 

‘कवि ज्ञान उदास : समालोचकको आँखामा’ कृति कविकी सुखदुःखकी सहधर्मिणी एवं काव्ययात्राकी सारथी प्रेमा उदासलाई समर्पण गरिएको छ । यो ग्रन्थलाई पाँच भागमा विभाजित गरिएको छ । पहिलो खण्डलाई शुभकामना/मार्गदर्शन भनिएको छ । यसमा प्रा.डा.कृष्णप्रसाद दाहालसमेत आठजना समालोचकका दृष्टिकोण छन् । दोस्रो खण्डमा समालोचना र विश्लेषण छन् । यसमा प्रा.डा.अभि सुवेदी, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, प्रा.डा. हेमचन्द्र नेपाललगायत छब्बीसजना समालोचकका समालोचना रहेका छन् । घनश्याम राजकर्णिकार र तोया गुरुङलगायत नौ जना स्रष्टाहरूका सम्झना र संस्मरणहरू तेस्रो खण्डमा समेटिएका छन् । चौथो खण्डमा भूमिका र अन्य समीक्षात्मक टिप्पणीहरू छन् । यसमा महानन्द सापकोटा र अभि सुवेदीलगायत चौधजना स्रष्टाका सिर्जना संलग्न छन् । पाँचौँ खण्डमा कृतिका सम्पादक प्रा.डा.कृष्णप्रसाद दाहालको सम्पादकको कलम छ । यसमा उहाँले कवि ज्ञान उदासको जीवनी र उहाँको काव्य यात्राको सविस्तार विवेचना गर्नुभएको छ । अन्तिम पातोमा कवि ज्ञान उदासले प्राप्त गरेका पुरस्कार, सम्मानको विवरण तथा पारिवारिक तस्बिरहरू रहेका छन् । 

कृष्णप्रसाद उदास र बालकुमारी उदासका ज्येष्ठ सुपुत्रका रूपमा वि.सं. २००० मङ्सिर २४ गतेका दिन ज्ञान उदासको जन्म भएको हो । उहाँका पुर्खा पाटनका शाक्य वंशका हुन् । कविका हजुरबुबा कर्णबहादुर शाक्य व्यापारको सन्दर्भमा सङ्खुवासभाको चैनपुरमा बसाइँ सराइ गरेर पुग्नुभएको हो । कवयित्री साथी एवं छिमेकी युवती प्रेमा श्रेष्ठसँग प्रेम विवाह गर्नुभएका उहाँका दुई छोरा र दुई छोरी छन् । उहाँ हाल काठमाडौँ महानगरपालिका –७ चाबहिलमा बस्दै आउनु भएको छ । उहाँले आइएसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । कवि उदासको काव्य यात्रालाई सम्पादकले प्रथम चरण (प्रारम्भदेखि २०१७, आभ्यासिक काल), द्वितीय चरण (२०१८ देखि २०१९ साल, विकास काल), तृतीय चरण ( २०१९ देखि २०५८ साल, प्रगति काल) र चतुर्थ चरण (२०५९ सालदेखि हालसम्म, उर्वर काल) चार चरणमा विभाजन गरी विस्तृत रूपमा विश्लेषण गर्नुभएको छ । कवि ज्ञान उदासको काव्य यात्राले ६१ वर्ष पार गरिसकेको छ । उहाँले सुरुमा केही समय शिक्षण कार्य पनि गर्नुभएको थियो । कवि उदास २०४४ सालमा सङ्खुवासभा जिल्ला पञ्चायतका उपसभापति हुनुभयो । काव्य यात्रासँगै उहाँ व्यापार, ठेकेदारी, राजनीति, शिक्षण, पत्रकारिता, सेयर कारोबार आदि क्षेत्रमा पनि संलग्नु हुनुभयो । आधुनिक गद्य कवितालाई शिखरत्व प्रदान गर्नेहरूको सूचीमा उहाँको नाम अब्बल दर्जामा आउने गरेको छ (कवि ज्ञान उदासको काव्य यात्रा–प्रा.डा.कृष्णप्रसाद दाहाल) । २०१८ सालमा नेपाल पत्रिका (वर्ष ३, अङ्क ३) मा प्रकाशित ‘आमा’ शीर्षकको कविता नै उहाँको पहिलो प्रकाशित कविता हो । कवि ज्ञान उदासका प्रकाशित कृतिहरू कविता : १. कुन बेस ? (२०१९) २. हामी बस पर्खिरहेका छौँ– बस ! (२०२८ ) ३. मनका कुराहरू (गीत, गजल र मुक्तक २०५८) ४. ज्ञान उदासका कविता (२०७१) ५. मेरा हराएका कविता (२०७३) ६. यस्तो लाग्छ (मुक्तक, २०७४) ७. खाली सारङ्गी (हाइकु, २०७४) । पत्रिका सम्पादन : १. पहाड साहित्यिक पत्रिका (२०२८) २. नयाँ खबरकागज साप्ताहिक (२०३९ देखि) ३. नानी बालपत्रिका (२०५५– २०५९) । कृति सम्पादन : १. हस्ताक्षर (स्रष्टाहरूको हस्ताक्षर, २०४९) २. नानीका कथाको किताब (बालकथा, २०६४ दोस्रो संस्करण, २०७४) ३. स्रष्टा हस्ताक्षर (२०७४, नेपालीभाषी वरिष्ठ साहित्यकारहरूको हस्ताक्षर) । पुरस्कार/सम्मान : भानुभक्त पुरस्कार २०७१ लगायत एक दर्जन पुरस्कार (ओझेलमा परेका ओजिला कवि ज्ञान उदास– प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल) । कवि उदासलाई नजिकबाट राम्रोसँग चिन्ने कलेज पढ्दाका उहाँका सहपाठी र अभिन्न मित्र प्रा.डा.अभि सुवेदीले आफ्ना तीन वटा समालोचना र भूमिकामा उहाँलाई समग्रतामा पर्गेल्नु भएको छ । तोया गुरुङको ‘ज्ञान दाइसँगको रमाइलो क्षण’ र कविकी साथी एवं सहधर्मिणी प्रेमा उदासको ‘साझाबाट अयोग्य भनेको कविता सङ्ग्रह म प्रकाशक बनेर छापेँ शीर्षकको प्रकाशकीय मन्तव्य रोचक छ ।