• ११ वैशाख २०८१, मङ्गलबार

सर्लाहीका सम्पदा

blog

रामदयाल राकेश

सर्लाही जिल्लामा धेरै पर्यटकीय स्थल छन् । यी स्थल कुनै धार्मिक, कुनै ऐतिहासिक तथा कुनै प्राकृतिक छन् । यीमध्ये नाढीमन ताल पनि एक हो । यसलाई मनोरम दर्शनीय ताल, नौका विहार गर्ने ताल र चराचुरुङ्गी हेर्ने तालका साथै एउटा चित्ताकर्षक स्थलका रूपमा विकास गर्न सकिन्छ । 

सर्लाहीको चन्द्रनगरस्थित करिब ४२ बिघा जमिनमा फैलिएको नाढीमन तालको दृश्यावलोकनका लागि छिमेकी जिल्लाका धेरै प्रकृतिप्रेमी आउने गर्छन् । महेन्द्र राजमार्गबाट ११ किलोमिटर दक्षिण र सदरमुकाम मलङ्गवाबाट चार कि.मि. उत्तरपूर्वी दिशामा यो मनोरम ताल अवस्थित छ । यो सर्लाही जिल्लावासीका लागि अनुपम वरदान साबित भएको छ तर यतातिर स्थानीय प्रशासन र स्थानीय बासिन्दाको त्यति चासो नपुग्नु चिन्ताको विषय हो । यस तालको प्राचीन र धार्मिक महत्त्व पनि उल्लेख भएको पाइन्छ । तालमा पाँच पाण्डव आएका थिए । पाँच पाण्डव यहीँबाट अज्ञातवासका लागि विराट राज्यको नगरी एवं राजधानीमा प्रवेश गरेका थिए भन्ने भनाइ छ । 

स्थानीय बूढापाकाका भनाइअनुसार नाढीमन तालको क्षेत्रफल ५२ बिघा थियो । तसर्थ यसलाई ५२ बिघा ताल पनि भनिन्छ । यस तालको आकार अर्धगोलाकार छ । अहिले यो ताल ४२ बिघामा सीमित छ ।  

‘नाढी’ शब्दको उत्पत्ति नारीबाट भएको र अपभ्रंश हुँदै नाढी भएको भनिन्छ । स्थानीय बूढापाकाका भनाइअनुसार नाढीमन तालको क्षेत्रफल ५२ बिघा थियो । तसर्थ यसलाई ५२ बिघा ताल पनि भनिन्छ । यस तालको आकार अर्धगोलाकार छ । अहिले यो ताल ४२ बिघामा सीमित छ । यसमध्ये तीन बिघामा मात्र पानी भरिएको छ । चारैतिरबाट माटोको मोहार (घाट)बाट सुसज्जित छ । चारैतिर हरिया रुख छन् । यसको उत्तर दिशामा ईश्वरपुर, दक्षिणमा ब्रह्मापुरी, पश्चिममा बबरगञ्ज र पूर्वमा नोकैलवा पर्छ । 

पश्चिम किनारमा अवस्थित धेरै पुरानो रुखबिरुवा, जडीबुटी र हरियो बागबगैँचाका साथसाथै व्यवस्थित किसिमको फूलबारीले यो ताल सुशोभित छ । फूलबारीनजिकै मरिचिमानेश्वर महादेवको मन्दिर स्थापित गरिएको छ । यस मन्दिरको पनि पौराणिक, ऐतिहासिक र धार्मिक महत्त्व वर्णित भएको पाइन्छ । यहाँस्थित शिवलिङ्गको पौराणिक कथा पनि स्थानीय बासिन्दामा प्रचलित छ । नाढीमन तालको दक्षिणतिर एक किलोमिटर पर पाकना माता मन्दिरको अगाडि एउटा किसान हलो जोतिरहेको बेला उसको हलोको फाली शिवलिङ्गमा अड्कियो र उसैले त्यो शिवलिङ्गको स्थापना ग¥योे । यो घटना चन्द्रशमशेरको शासनकालतिरकोे हो । यसको नामकरण पनि त्यसै बखतदेखि मरिचिमानेश्वर महादेव रह्यो । मन्दिरको निर्माण बडो कलात्मक र स्थानीय संस्कृतिलाई उजागर गर्ने खालको छ । मन्दिरमा अवस्थित शिवलिङ्ग दर्शनार्थ स्थानीय बासिन्दाका साथै छिमेकी जिल्लाका दर्शनार्थीको भीड बाह्रै महिना लाग्छ । श्रीपञ्चमी तथा वसन्त पञ्चमीको पावन अवसरमा भव्य मेला आयोजना पनि गरिन्छ । यसले नाढीमन तालको धार्मिक र सांस्कृतिक महत्त्व  बढाएको छ । 

tfnjl/kl/ jg:klt, kmnkm"n k|z:t dfqfdf 5g\ . dvfgf, sdn, sdnsf] kfth:tf w]/} hLjgf]kof]uL jg:klt oxfF kfOG5g\ . To:t} ljleGg lsl;dsf r/fr'?ª\uLsf]] b[Zo klg lrQfsif{s 5 . 

तालवरिपरि वनस्पति, फलफूल प्रशस्त मात्रामा पाइन्छन् । मखाना, कमल, कमलको पातजस्ता धेरै जीवनोपयोगी वनस्पति यहाँ पाइन्छन् । त्यस्तै विभिन्न किसिमका चराचुरुङ्गीकोे दृश्य पनि चित्ताकर्षक छ । चराचुरुङ्गीको चिरबिरले यो ताल र वरिपरिको बागबगैँचा गुञ्जित भइरहन्छ तर संरक्षणमा कसैको ध्यान गएको देखिँदैन । केही दिनअघि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको सहयोगमा तालको संरक्षण र संवद्र्धनमा काम भएको स्थानीयवासीको भनाइ छ । 

तालको प्राकृतिक सौन्दर्य त मोहक छँदै छ, व्यापारिक महत्त्व पनि धेरै छ । यस तालमा पाइने माछाको स्वाद धेरै मिठो रहेको भनाइ छ । यहाँको माछाको स्वाद चर्चाको विषय हुने गरेको छ । यहाँ पाइने माछाको तौल ३० देखि ४० किलोसम्म हुने गरेको छ । यसको व्यापारीकरण गरे धेरै आर्थिक लाभ लिन सकिन्छ तर सुरक्षा व्यवस्था राम्रो नभएकाले स्थानीयवासीले माछा मारेर स्वतन्त्र रूपमा खाने र बेच्ने कार्य गर्दै आएका छन् । यसको व्यवस्थित बजारीकरण र व्यावसायीकरण गरेर गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा दिन सकिन्छ । तालमा स्थानीय पर्यटक नौका विहार गरेर साह्रै आनन्दित हुन्छन् । पोखरास्थित फेवाताल र रूपा तालजस्तो बनाएको खण्डमा यहाँ पर्यटकको घुइँचो लाग्ने धेरै सम्भावना छ । 

पूर्वपश्चिम राजमार्गमा रहेको सागरनाथ वनजङ्गललाई भने प्राकृतिक आरक्षका रूपमा विकास गर्न सकिन्छ । यसलाई पर्सा आरक्षण केन्द्रजस्तो बनाएर संरक्षित गर्न सकिन्छ । चितवनको जङ्गलमा बनाइएका कटेजको शैलीमा केही कटेज निर्माण पनि यहाँ गर्न सकिन्छ । होमस्टे सञ्चालन गरेर स्थानीयवासीलाई रोजागरी सिर्जना पनि गर्न सकिन्छ । 

यस्तै सङ्ग्रामपुरमा प्राचीन, पुरातात्त्विक र धार्मिक महत्त्वका मूर्ति रहेका छन् तर त्यसको संरक्षण अहिलेसम्म गरिएको पाइँदैन । यहाँ सती बिहुलाको महिमा तथा गौरवगाथा अहिलेसम्म जीवित रहेको पाइन्छ । यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व भएको सम्पदालाई उपेक्षित गरिएकोमा स्थानीयवासी दुःखी छन् । यस महत्त्वपूर्ण  ठाउँलाई व्यवस्थित ढङ्गबाट संरक्षण गर्न प्रदेश सरकारको ध्यान पुगेको छैन । यस स्थानलाई राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको खण्डमा आन्तरिक पर्यटनको मुख्य आकर्षण केन्द्र बन्न सक्छ । यस ऐतिहासिक तथा धार्मिक घरोहरलाई अझ गौरवान्वित गरेर जीर्णोद्धार गर्ने बेला भइसकेको छ । मधेश प्रदेशको पुरातात्त्विक, धार्मिक र ऐतिहासिक क्षेत्रसँग जोडेर एउटा ‘टुर प्याकेज’ बनाएर यसलाई प्रचार गर्न सकिन्छ । 

सती बिहुला, बाला लाखिन्दर मनसा (जया विषहर विष कन्या), चन्नु साह बनिया, बेचु साह, गेरुका नदी, सुरुङ मार्ग, स्नानघाट, सिन्दूर धोई पोखरी, काजर धोई पोखरी, चौर धोइन पोखरी, लवका सडक आदि सांस्कृतिक सम्पदा यहाँ अवस्थित भएकाले यस ठाउँको महत्त्व स्वतः सिद्ध छ । सती बिहुलाको जीवनसँग अन्तरसम्बन्ध, लोकगाथा, परम्परा, किंवदन्ती आदि अमूर्त सम्पदामा पनि यस ठाउँको महत्त्व छ तर यसको सङ्कलन अहिलेसम्म भएको छैन । अन्य भौतिक सम्पदाहरू पनि उपेक्षित रहन गएकाले यसको संरक्षण एवं संवद्र्धनका लागि सरोकारवालाको ध्यान पुग्नुपर्छ ।

यसैगरी सर्लाहीको सदरमुकाम मलङ्गवादेखि नवलपुर जाने बाटोमा पर्ने गैरबाट ऐतिहासिक ठाउँ रजवा बजार पुग्न सकिन्छ । यस ठाउँमा जङ्गबहादुर सिकार खेलेर फर्किंदा स्वर्गवास भएका थिए । त्यसैले यस ठाउँमा जङ्गबहादुरको स्मरणमा मन्दिर बनइएको छ तर यो ठाउँ ऐतिहासिक भए पनि उपेक्षित रहँदै आएको छ । यसको समुचित संरक्षण भइराखेको छैन । अहिले यहाँ हाटबजार लाग्दैन । मन्दिरको महत्त्वपूर्ण आकर्षण गजुर चोरी भएको छ । थप क्षति हुने सम्भावना देखिन्छ । तसर्थ यसको पनि संरक्षण गर्नुपर्ने देखिन्छ । मन्दिरको रङरोगन नभएको वर्षांै भइसक्यो । यस्तै सर्लाहीमाई, चमेलीमाईले पनि यात्रीको ध्यान आकृष्ट गर्छ । तसर्थ यी मन्दिरको पनि मर्मतसम्भार तथा जीर्णाेद्धार गरेर आकर्षक स्थलका रूपमा विकास गर्न सकिन्छ । 

मलङ्गवाबाट पश्चिमतिर पर्ने एउटा ठूलो पोखरीको किनारमा रहेको राजदेवी मन्दिरको भने आफ्नै महत्त्व छ । यो मन्दिर मुसैलीमा पर्छ । मन्दिरको छेउबाट गुज्रिने प्रत्येक यात्रीको ध्यान यसले आकृष्ट गर्छ । यात्री आ–आफ्नो सवारीसाधन रोकेर देवीको दर्शन गर्न जान्छन् । देवीको चरणमा नतमस्तक हुन्छन् । 

इनरवामा रहेको शिवमन्दिर पनि अत्यन्त प्राचीन एवं प्रसिद्ध मानिन्छ । यहाँ शिवरात्रिको अवसरमा ठूलो मेला लाग्छ । सिसौटिया गाउँपालिकामा जनसहयोगबाट निर्मित हनुमान मन्दिरमा नित्य बिहान–बेलुका कीर्तन र आरती गरिन्छ । यहाँ स्थायी रूपमा पुजारीलाई बस्नका लागि आवास सुविधा प्रदान गरिएको छ । यसबाहेक दुर्गा पूजाको अवसरमा दुर्गा पूजाका लागि विशेष प्रतिमा निर्माण, मेला र कुस्तीको आयोजना गरिन्छ । यस्तै गाउँगाउँमा झन्डा उत्सव मनाइन्छ, जसलाई महाविरी झन्डा भनिन्छ । सिसौटियामा एउटा ठूलो पोखरी प्राचीनकालदेखि अवस्थित छ, जसलाई मणि भनिन्छ तर दुःखको कुरो यसको संरक्षण एवं संवद्र्धनमा पनि कसैको चासो देखिँदैन । यसको किनारमा एउटा ठूलो वर (वरगद)को रुख थियो, जुन पोहोर साल हुरीले ढलायो । त्यसको मुनि एउटा दर्शनीय देवीस्थानको पुनर्निर्माण गर्ने योजना भने बनाइएको छ । 

सर्लाहीको सबैभन्दा महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक स्थल हो– मूर्तिया । सर्लाहीको सबैभन्दा महत्त्वपूर्ण र व्यस्त बजारका रूपमा विख्यात छ– बरहथवा बजार, जुन यसको नजिक छ । खुला सङ्ग्रहालयका रूपमा अहिले सबै पर्यटकको महत्त्वपूर्ण  गन्तव्य बनेको छ मूर्तिया । यसलाई उपेक्षित ठाउँका रूपमा चिनिन्छ । यहाँका बहुमूल्य तथा महत्त्वपूर्ण मूर्ति चोरी भइसकेका छन् भने बाँकी भएका पनि दिनानुदिन चोरी हुँदै गएका छन् । यहाँ मुक्तेश्वरनाथको महìवपूर्ण मन्दिर छ । शिवरात्रिको अवसरमा केही धार्मिक पर्यटक मुक्तेश्वरको दर्शन गर्न जान्छन् । यस मन्दिरको गर्भगृहभित्र रहेका मूर्ति धेरै कलात्मक छन् । ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका छन् । उत्खननको पर्खाइमा छन् । यहाँ सुरुङको बाटो पनि छ । धेरै मनमोहक मूर्ति भएकाले यसलाई मूर्तिया नामकरण गरिएको हो । 

खुला सङ्ग्रहालयका रूपमा अहिले सबै पर्यटकको महत्त्वपूर्ण गन्तव्य बनेको छ मूर्तिया । यसलाई उपेक्षित ठाउँका रूपमा चिनिन्छ । यहाँका बहुमूल्य तथा महत्त्वपूर्ण मूर्ति चोरी भइसकेका छन् भने बाँकी भएका पनि दिनानुदिन चोरी हुँदै गएका छन् ।  

एकपल्ट पुरातत्त्व विभागले यहाँ उत्खनन गर्दा धेरै महत्त्वपूर्ण प्रस्तर खण्ड पाइएको थियो, जुन सङ्ग्रह गरेर त्यहाँस्थित राम मन्दिरमा राखिएका छन् तर सुरक्षा र संरक्षणको अभावमा ती प्रस्तर खण्ड मात्र होइन, प्राचीन इँटाहरू पनि विलुप्त हुने अवस्थामा पुगेका छन् । मोहन नामक एउटा महन्थले यसलाई पत्ता लगाएको भनिन्छ । यो स्थललाई धेरै गौरवशाली र महिमाशाली मानिन्छ । कर्नाटक वंशीय राजाहरूको समयमा पनि यसले आफ्नो अस्तित्व जोगाउन सफल रह्यो तर मुस्लिम सम्राट् मु. तुगलक र उसका सेनाले यहाँस्थित सबै मूर्तिलाई तोडफोड गरिदिएका थिए, जुन अहिले पनि छन् र उत्खननको पर्खाइमा छन् । 

यो पङ्क्तिकार नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य हुँदा यहाँ दुईदिने ऐतिहासिक, पुरातत्त्विक र सांस्कृतिक तथा धार्मिक विषयक गोष्ठी भएको थियो । यो बेलाका सबै कार्यपत्र प्रज्ञा प्रतिष्ठानको कुनै कुनामा अज्ञात रूपमा फालिएका होलान् । एउटा पुस्तिकाका रूपमा प्रकाशित गर्ने पङ्क्तिकारको रुचि थियो तर सम्भव भएन । २०७८ सालको चैत २ मा बरहथवाका मेयर देवानन्द महतोसँग मेरो जम्काभेट भयो । उहाँ पनि युवा नेता रघुनाथ साहसँग मन्दिरको परिसरमा उपस्थित हुनुहुन्थ्यो । उहाँसँग मुक्तेश्वरनाथ मन्दिरका बारेमा कुराकानी हुँदा उहाँले महत्त्वपूर्ण जानकारी दिनुभयो । मुक्तेश्वरनाथ मन्दिर ५४ फिटको निर्माण हेतु केन्द्र सरकारले पाँच करोड ३८ लाख रुपियाँ बजेट स्वीकृत गरेको थियो तर यसको कार्यान्वयन हुन सकेको छैन । त्यहाँ नजिकै पार्क निर्माणका लागि बरहथवा नगरपालिकाले दुई बिघा जमिन खरिद गरिसकेको छ । बरहथवा नगरपालिकाअन्तर्गत ४५ कि.मि. पक्की सडक निर्माण भइसकेको छ, जसले गर्दा मुक्तेश्वरनाथ मन्दिरको दर्शनार्थ आउने यात्रीलाई केही कठिनाइ हुँदैन । यस नगरपालिकाअन्तर्गत अनेक मठमन्दिर र धर्मशालाको निर्माण भएको पनि जानकारी उहाँले दिनुभयो । 

सर्लाहीमाईको नामबाटै सर्लाही जिल्लाको नामकरण गरिएको छ तर यो सर्लाहीमाईको स्थान नै वर्षौंदेखि उपेक्षित छ । सर्लाहीमाई सबैभन्दा शक्तिशाली देवीका रूपमा अझै पनि सम्मानित र पूजित छन् तर उनको स्थानलाई चाहिँ बेवास्ता गरिएको छ । यहाँ आउनेजाने बाटो नै असुविधाजनक स्थितिमा छ । यो हेमपुरमा अवस्थित छ तर न स्थानीय सरकार न प्रदेश सरकारले नै यसको संरक्षणमा ध्यान दिएको छ । यसरी सर्लाही जिल्लामा धार्मिक, ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलहरू प्रशस्त छन् तर तिनको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा ध्यान नदिँदा ‘माल पाएर के गर्नु, चाल नपाएपछि’ भनेझैँ भएको छ ।