• ७ भदौ २०८२, शनिबार

सडकले दिएको खुसी

blog

देशका ७७ जिल्लामध्ये सबैभन्दा पछि सडक सञ्जालमा जोडिएको जिल्ला हो हुम्ला । गत असार २२ गते मात्र देशको सडक सञ्जालमा हुम्ला जोडियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०५६ सालमा शिलान्यास भएको कर्णाली कोरिडोर बन्न धेरै समय लाग्यो । यो सडक हुम्ला पहिल्यै पुगे पनि खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा पुल थिएन । स्थायी पुल तत्काल बन्न सक्ने अवस्था भएन । विकल्प बेलिब्रिज भयो । गत चैतबाट बन्न सुरु भएको बेलिब्रिज असारमा पूरा भयो । गत असार २२ गते सञ्चालनमा आयो । प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो । हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि यताका दिनमा हुम्लाको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन आउन थालेको छ । जनजीवन सहज हुँदै छ । आपूर्ति व्यवस्थामा व्यापक सुधार हुन थालेको छ । सडक सञ्जालकै कारण खाद्यान्न सस्तो भएको छ । हवाईजहाजबाट खाद्यान्नका बोरा खसाउनुपर्ने बाध्यता हटेको छ । निर्माण सामग्री सडकमार्गबाटै पुग्न थालेको छ । इन्धनको भाउ सस्तिएको छ । आवश्यक वस्तुको सहज उपलब्धताले आमनागरिकमा खुसी छाउन थालेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ३९४ रहेको छ । सबै नागरिक जिल्लामै छैनन् । असुविधा, कामविशेष र रोजगारीले जिल्लाबाहिर पनि धेरै छन् । सडक सञ्जाल जोडिएपछि जिल्ला फर्कने अपेक्षा छ । 

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि सदरमुकाम सिमकोट मात्र होइन, जिल्लाभरि नै खुसी छाएको छ । यो खुसी छाउनुमा पनि खास कारण छ । जिल्लाका सबै गाउँपालिकामा सडक सञ्जाल विस्तारित छ । बेलिब्रिज बनेपछि औपचारिक रूपमै सबै पालिका सडक सञ्जालमा जोडिए । साँच्ची नै लामो समयको सडक सपना पूरा भएको छ । दक्षिणतर्फ नेपाल–भारत सीमाको नेपालगन्ज–जमुनाहादेखि उत्तरतर्फ हिल्सा हुँदै चीनतर्फको नाका जोड्ने यो सडक सञ्जालले हुम्लाको मुहार फेर्दै छ । सडक कोरिडोरको लम्बाइ नै ६८२ किलोमिटर छ । सडक सञ्जाल जोडिएपछि नेपालगन्जबाट धेरै दिन टिकट कुरेर सिमकोटमा जहाजबाट ओर्लनुपर्ने बाध्यता हटेको छ । सिमकोटमा यात्रुवाहक बस चल्न थालेको छ । बसका साथै ढुवानीको साधन ट्रक चल्न थालेको छ । ट्रकका कारण आपूर्ति व्यवस्थामा व्यापक सुधार आउन थालेको छ । वस्तुको मूल्य सस्तिएको छ । विकासनिर्माणका सामानमा त ठुलो परिवर्तन आएको छ । पहिले प्रतिबोरा साढे आठ हजार रुपियाँ पर्ने सिमेन्ट अहिले प्रतिबोरा दुई हजार रुपियाँमा झरेको छ । त्यसै गरी पहिले प्रतिकेजी २८० रुपियाँ पर्ने फलामे डन्डी हाल १२२ रुपियाँमा पाइन थालेको छ । पहिले एक बन्डलको २२ हजार रुपियाँ पर्ने जस्तापाता हाल १३ हजार पाँच सय रुपियाँमा झरेको  छ । 

सडक विकासको मूल आधार नै हो । हरेक वस्तुको मूल्य सस्तो हुन थालेपछि स्थानीयवासीमा खुसी छाउनु स्वाभाविक हो । दैनिक उपभोग्य सामान पनि पहिलेको भन्दा धेरै सस्तो भएको छ । खाने तेलको मूल्य प्रतिलिटर ६० रुपियाँसम्म सस्तो भएको छ । खाद्यान्न सस्तो हुँदा अब चामलका निम्ति सरकारी संस्थाको मात्र मुख ताक्नु नपर्ने भएको छ । ढुवानी दरमा आएको परिवर्तनका कारण बजार प्रतिस्पर्धात्मक हुँदै छ । कालोबजारीको सम्भावना न्यून हुँदै गएको छ । पहिले हवाईमार्गबाट ढुवानी हुँदा ढुवानी भाडा बढी पर्ने र कालोबजारीसमेत थियो । खाना पकाउने ग्यासको मूल्यमा ठुलो फेरबदल भएको छ । अझ भनौँ धेरै सस्तिएको छ । नयाँ सिलिन्डर चार हजार पाँच सय र भरेको ग्यासको सिलिन्डर साट्दा प्रतिसिलिन्डर दुई हजार सात सय रुपियाँमा पाइन थालेको छ । एक वर्षअघिसम्म नयाँ सिलिन्डरको सात हजार र भरेको पाँच हजार रुपियाँ तिरेका हुम्लावासीलाई मूल्यमा आएको सहजताले सडकको गहन महत्व बुझाउन थालेको छ । त्यस्तै पेट्रोलियम पदार्थको मूल्यमा पनि कमी आएको छ । डिजेल प्रतिलिटर चार सय रुपियाँ पर्ने गरेकोमा हाल प्रतिलिटर १६५ रुपियाँ पर्छ । पेट्रोल प्रतिलिटर पहिले पाँच सय पर्ने गरेकोमा हाल प्रतिलिटर २५० रुपियाँ पर्ने गरेको छ । अब्बल सडक विकासको पूर्वाधार हो । सडक कालोपत्रे गर्न बाँकी नै छ । सडक पूर्वाधारमा अझै थप र गुणस्तरीय सुधार गर्दै जानु जरुरी छ । दुर्गम जिल्लालाई बजार मात्र होइन, उत्पादनको केन्द्रका रूपमा पनि विकास गर्नु जरुरी छ ।