यमबहादुर दुरा
जसरी स्नायुकोषले दिमाग र शरीरको अन्य भागबीच सञ्चार सेतुका रूपमा काम गर्छ, त्यसरी नै इन्टरनेटले समाजका सबै तह र तप्कालाई जोड्ने काम गरिरहेको छ । त्यसैले एक्काइसौँ शताब्दीमा इन्टरनेट मानव जातिका लागि प्राणवायु नै बनेको छ । यस्तो लाग्छ इन्टरनेटबिना आधुनिक जीवन निष्प्राण बन्न पुग्छ ।
मानव समाज आधुनिकतामा लम्कँदै गर्दा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको एक तथ्याङ्कअनुसार नेपालमा ९१ प्रतिशत नागरिक इन्टरनेट प्रयोग गर्छन् । बजार सर्वेक्षणसम्बन्धी संस्था ‘स्टाटिस्टा’ का अनुसार विश्वका करिब ६० प्रतिशत मानिसको इन्टरनेटमा पहुँच छ । विश्व समुदायको इन्टरनेटसँग साइनो गाँसिने क्रम निरन्तर जारी छ ।
मानव सञ्चारको विकास–यात्रा निकै लामो छ । बोलीको उद्भव, लेखनकलाको विकास हुँदै सञ्चारको विद्युतीय यात्रामा फड्को मार्दासम्म हजारौँ वर्ष व्यतीत भइसकेको छ । मानव सञ्चारको विद्युतीय यात्रा मोर्स कोडबाट सुरु भएर टेलिग्राफ, टेलिफोन, रेडियो, टेलिभिजन हुँदै इन्टरनेटको युगमा आइपुगेको हो । मोर्स कोडदेखि इन्टरनेटको युगसम्म आइपुग्दा लगभग एक सय ६० वर्षको लामो कालखण्ड बितेको छ । सयौँ आविष्कारक र वैज्ञानिकका अथक तथा बुद्धिमत्तापूर्ण शोध एवं परीक्षणले विद्युतीय सञ्चारलाई सम्भव तुल्याएका हुन् ।
मानव सञ्चारको विद्युतीय यात्रामा इन्टरनेट नवीनतम् विकास क्रम हो । इन्टरनेटले सबै पूर्ववर्ती आविष्कारलाई उछिनिसकेको छ । मोर्स कोडको जमानामा अक्षर वा आवाज केही पनि सम्प्रेषण हुँदैनथ्यो । केवल सङ्केत सम्प्रेषण हुन्थ्यो । त्यसबेलाको सञ्चार अहिलेको जस्तो ताररहित (Wireless) थिएन । अहिले आएर श्रव्य, श्रव्य–दृश्य र लिखित सामग्री (टेक्स्ट) क्षणभरमै संसारको जुनसुकै कुनामा सम्प्रेषण हुन्छन् ।
महान् वैज्ञानिक स्टेफेन हकिङले इन्टरनेटबारे एउटा घतलाग्दो विचार अघि सारेका थिए । हकिङको कथन थियो, “हाम्रो दिमागमा स्नायुकोष (न्युरोन)हरू जोडिएझै हामी पनि इन्टरनेटबाट जोडिएका छौँ ।” हुन पनि दिमागमा स्नायुकोष जोडिएर मानव जीवनले सार्थकता पाएजस्तै आधुनिक जीवनशैलीमा इन्टरनेट जोडिन आइपुग्दा हाम्रो जनजीवन जादुमय किसिमले सहज र सार्थक हुन पुगेको छ ।
सूचना प्रवाहमा भएको यस प्रकारको जादुमय प्रगतिले इन्टरनेटलाई महìवपूर्ण र अपरिहार्य सञ्चार प्रणालीका रूपमा स्थापित गरिदिएको छ । इन्टरनेटले नै एक्काइसौँ शताब्दीलाई साँचो अर्थमा ‘सूचना क्रान्तिको युग’ बनाइदिएको छ । इन्टरनेटले मानव सञ्चारलाई छिटो–छरितो र बहुआयामिक बनाइदिएको छ, जुन जादुमय र स्फूर्तिदार पनि छ ।
इन्टरनेटको रचनागर्भ
सन् १९६० को दशकसम्म अमेरिकामा कम्प्युटरहरू अतिशय ठूला र हलचल नहुने किसिमका थिए । यसका अतिरिक्त कम्प्युटरहरूबीच ‘डाटा’ आदानप्रदान गर्ने कुनै छिटो–छरितो विधि पनि थिएन । यसबाट भौगोलिक दृष्टिले टाढा–टाढा रहेका कम्प्युटरबीच ‘डाटा’ आदानप्रदान गर्ने दिशामा भयानक समस्या थियो ।
एउटा कम्प्युटरबाट अर्को कम्प्युटरमा ‘डाटा’ पठाउन म्याग्नेटिक टेपमा डाटा राखेर लामो यात्रा गर्नुपथ्र्यो । डाटा लिएर यात्रा गर्न नचाहनेका लागि अर्को विकल्प थियो । त्यो हो, सम्बन्धित ‘डाटा’ लाई हुलाकमार्पmत सम्बन्धित ठाउँमा पठाउने । यस्तो विधि झन्झटिलो त छँदैथियो, धेरै समय पनि लाग्ने खालको थियो ।
यस प्रकारको झन्झटबाट मुक्ति पाउने उपाय खोज्न थालियो । यस क्रममा अनेकन् वैज्ञानिक शोधहरू भए । जसमध्ये अमेरिकी रक्षा विभागले सन् १९६९ मा सुरु गरेको एड्भान्स रिसर्च प्रोजेक्ट एजेन्सी नेटवर्क (अर्पानेट) विशेष उल्लेखनीय छ । अर्पानेटले सुरुमा युनिभर्सिटी अफ क्यारिलोना (लस एन्जेलस), युनिभर्सिटी अब क्यालिफोर्निया, स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ युटा गरी चार ठाउँका कम्प्युटरलाई अर्पानेटले जोडेको थियो । यसपछि अमेरिका र युरोपमा अरू यस्ता नेटवर्क विस्तार हुँदै गए ।
यस्तैमा सन् १९८९ मा ब्रिटिस कम्प्युटर वैज्ञानिक टिम बर्नस् लिले वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) आविष्कार गरे । यसबाट इन्टरनेट विकास र विस्तारमा जादुयम प्रगति भयो । डब्लूडब्लूडब्लूले विश्वभरका कम्प्युटरलाई एकापसमा जोड्ने योजकका रूपमा काम गर्न थाल्यो । यसबाट सन् १९९० पछि विश्वभरका वेबपेज एउटै नेटवर्कमा जोड्ने र ‘डाटा ट्रान्सफर’ गर्ने वातावरण तयार भयो । यहीँबाट वास्तविक अर्थमा इन्टरनेटको उदय भएको मानिन्छ ।
भविष्यको अथाह गर्भमा रहेको इन्टरनेटको भावी पुस्ताको चरित्र र प्रकृति कस्तो हुनेछ भन्नेबारे अग्रिम चर्चा हुन थालिसकेको छ ।
इन्टरनेटको पुस्ता
समयको वर्तमान बिन्दुसम्म आइपुग्दा इन्टनेटको तेस्रो पुस्ता व्यतीत भई चौथो पुस्ता यात्रारत् छ । इन्टनेटको पाँचौँ पुस्ता आउन बाँकी छ । तापनि भविष्यको अथाह गर्भमा रहेको इन्टरनेटको भावी पुस्ताको चरित्र र प्रकृति कस्तो हुनेछ भन्नेबारे अग्रिम चर्चा हुन थालिसकेको छ । इन्टरनेटको पुस्तासम्बन्धी सङ्क्षिप्त विवरण :
वेब ०.० : इन्टरनेटको रचनागर्भ तयार हुँदै गर्दाको इन्टरनेटको अल्पविकसित र अपरिष्कृत संस्करणलाई ‘वेब ०.०’ भनिन्छ । यसको समयावधि सन् १९८० देखि १९९० लाई मानिन्छ । यद्यपि कसै कसैले सन् १९६० दशकदेखि १९९० को समयलाई यसको कालखण्ड मान्ने गरेको पनि पाइन्छ ।
वेब १.० : यो इन्टरनेटको पहिलो पुस्ता हो । जसअन्तर्गत गतिहीन (Static) प्रकृतिका वेबसाइट पर्छन् । यसलाई ‘इन्फर्मेसन वेब’ भनिन्छ । यस प्रकारले वेबसाइट एकतर्फी सवारीजस्तै हो । यस्ता वेबसाइटमा रहेका सामग्री पाठक (प्रयोगकर्ता)ले पढ्न सक्थे तर प्रयोगकर्तासमक्ष प्रतिक्रिया दिने वा टिप्पणी लेख्ने कुनै अवसर हुँदैनथ्यो । सामान्यतया यसको समयावधि सन् १९९०–२००० मानिएको छ ।
वेब २.० : यो इन्टरनेटको दोस्रो पुस्ता हो । यसअन्तर्गत अन्तक्र्रियात्मक बेवसाइटहरू पर्छन् । यस्ता साइटमा रहेका सामग्री प्रयोगकर्ताले पढ्ने र त्यसबारे प्रतिक्रिया व्यक्त गर्न पाउने अवसर पाउँछन् । त्यसैले यसलाई दुईतर्फी सञ्चारयुक्त वेबसाइट मानिन्छ ।
तत्कालीन समयमा माइस्पेस, विकिपिडिया, फेसबुक, ब्लगिङ साइट आदिलाई वेब २.० को संस्करण मानिन्थ्यो । अडियो तथा गेमिङ साइटलाई पनि यसैअन्तर्गत राखिन्छ । अहिले साहित्यिक वृत्तमा पनि वेब २.० लाई विम्बात्मक रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ । दोहोरो सञ्चारलाई इङ्गित गर्छ । यसको समयावधि सन् २०००–२०१० लाई मानिन्छ ।
वेब ३.० : यो इन्टरनेटको तेस्रो पुस्ता हो । जुन बेव २.० को विकसित तथा परिमार्जित संस्करण हो । यस प्रकारका वेबसाइट कृत्रिम बौद्धिकी (Artificial Intelligence),, यन्त्र–उपकरणको माध्यमबाट सिक्ने सुविधा (Machine Learning), भर्चुअल रियालिटी तथा आगमेन्टेड रियालिटीको गठजोड मानिन्छ । यी तमाम सुविधाले तीव्र गतिमा सूचना प्राप्त गर्ने, पढ्ने तथा प्रतिक्रिया लेख्ने सुविधाका अतिरिक्त भिडियो कल गर्ने, गेम खेल्नेजस्ता उच्चस्तरीय अवसर उपलब्ध हुन्छन् । यसले प्रयोगकर्तालाई त्रिआयामिक वातावरण (Three-Dimensional Environment) दिन्छ । यसको समयावधि सन् २०१०–२०२० मानिएको छ ।
वेब ४.० : इन्टरनेटको चौथो पुस्ता हो । जुन बेव ३.० भन्दा स्वभाविक रूपमा विकसित र परिष्कृत संस्करण छ । यसले कुनै व्यक्तिलाई घर र अफिसभन्दा बाहिर रहेर पनि अत्याधुनिक यन्त्र–उपकरणको माध्यमबाट त्यहाँका गतिविधि माथि नजर राख्ने अवसर दिन्छ । वेब ४.० मा कृत्रिम बौद्धिकीको उच्चस्तरीय प्रयोग हुन्छ । जसबाट मानिस र मेसिनबीच उच्चस्तरको अन्तक्र्रिया सम्भव छ ।
यही आधारमा यसलाई सिम्बियोटिक वेब (Simbiotic Web) पनि भन्ने गरिन्छ । कृत्रिम बौद्धिकीको परिष्कृत संस्करण, साइबर दुनियाँमा नयाँ सम्भावनाको अन्वेषणका लागि सहज वातावरण, उच्चस्तरको भिडियो गुणस्तर (एचडी भिडियो), भरोसायोग्य सञ्चार वातावरण, तीव्रतर सूचना प्रवाह आदि वेब ४.० का विशेषताहरू हुन् । यसको समयावधि सन् २०२०–२०३० मानिएको छ ।
वेब ५.० : यो इन्टरनेटको पाँचौँ पुस्ता हो । जो आउन बाँकी नै छ । वेब ५.० मा कृत्रिम बौद्धिकीको नितान्त परिष्कृत संस्करण उपयोग गरिने छ । जसले बुद्धिमत्तापूर्ण व्यवहारलाई निर्देशन गर्छ । यस आधारमा वेब ५.० लाई ‘इन्टिलिजेन्ट वेब’ पनि भनिन्छ । यसले जटिल प्रकृतिका बहुआयामिक मानवीय आवश्यकतालाई पूरा गर्न सघाउने अपेक्षा गरिएको छ।
वेब ५.० ले मानिसका भावनात्मक उतारचढावलाई समेत व्यवस्थापन गर्न सहयोग गर्ने पनि अपेक्षा गरिएको छ । त्यसैले यसलाई भावनात्मक बुद्धियुक्त वेब (Emotional Web) नाम पनि दिइएको छ । वेब ५.० मानिसले जस्तै सोच्ने र सोहीअनुसार व्यवहार गर्ने उच्चस्तरीय कृत्रिम बौद्धिकीयुक्त इन्टरनेट हो । यसको समयावधि सन् २०३०–२०४० मानिएको छ।
पुछारमा
इन्टरनेटको पाँचौँ पुस्ता आउन बाँकी नै छ । तापनि त्यो नवीतम् पुस्ता कस्तो हुनेछ भन्नेबारे अहिले नै व्यापक चर्चा–परिचर्चा भइसकेको छ । समय क्रममा एक दिन पाँचाैँ पुस्ताको आगमन भई कुनै दिन त्यसको समेत युगसमेत अन्त्य हुनेछ । त्यसपछि इन्टरनेटको अर्को पुस्ता आउनेछ तर त्यसको रूप, रङ्ग र जादुमय चरित्र कस्तो हुने हो ? यसै भन्न सकिन्न । यसको उत्तर समयले मात्र दिन सक्नेछ ।