• ७ साउन २०८२, बुधबार

रुपन्देही–३ को उपनिर्वाचन, दलहरू उम्मेदवार छान्ने गृहकार्यमा

blog

भैरहवा समाचारदाता 

भैरहवा, साउन ७ गते । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेपछि दलहरू उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । 

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

नेपाली कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणले आसन्न उपनिर्वाचनबाट पार्टीले आफ्नो मूल्याङ्कन गर्ने अवसर पाउने र त्यस आधारमा २०८४ सालको चुनावका लागि थप रणनीति बनाउने मौका पाउने बताउनुभयो । कांग्रेस जिल्ला सभापति खाणका अनुसार जनाधार बलियो भएको, पार्टीमा योगदान गरेका लगायतका आधारमा उम्मेदवार छनोट गर्ने तयारी छ । 

नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले क्षेत्रीय समिति र जिल्ला समिति हुँदै सम्भावित उम्मेदवारको नाम सिफारिस हुने जानकारी दिँदै एकल सिफारिस भएमा सोही नाम निर्णयसरह हुने, एकभन्दा धेरै भएमा केन्द्रबाट निर्णय हुने बताउनुभयो । 

संसद्को तेस्रो प्रमुख दल माओवादी केन्द्रले पनि उम्मेदवार चयनको गृहकार्य भइरहेको जनाएको छ । माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले उम्मेदवारीबारे आन्तरिक छलफल भइरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले सकेसम्म स्थानीय अनुहार, जनमत भएको, सङ्घीय संसद्को भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभयो ।  

मधेशकेन्द्रित सात दल मिलेर बनाइएको ‘सङ्घीय लोकतान्त्रिक मोर्चा’ मा ६ दल एकातिर देखिएका छन् भने एउटा दल आफ्नै उम्मेदवार अघि सार्ने अडानमा छ । मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा छन् । 

मोर्चाका छ घटकले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई साझा उम्मेदवार मान्ने निर्णय गरे पनि जनमत पार्टी भने आफ्नो छुट्टै उम्मेदवारलाई मैदानमा उतार्ने तयारीमा छ । नागरिक उन्मुक्ति पार्टी रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राकेश रौनियारले मधेशी मोर्चाका तर्फबाट साझा उम्मेदवारको नाम घोषणा गर्न केही दिन लाग्ने बताउनुभयो । 

उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ । उपनिर्वाचनमा दीपक बोहोराकै दुई छोराको पनि नाम राप्रपाले सम्भावित उम्मेदवारका रूपमा सिफारिस गरेको छ । राप्रपाका रुपन्देही जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागरप्रताप राणासहित केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन गौरव बोहोरा, जिल्ला सदस्य ई. प्रज्वल बोहोरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिकको नाम सिफारिस गरिएको हो ।

स्वतन्त्र उम्मेदवारका रूपमा दुई जनाले पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् । राप्रपा परित्याग गरेका अजय गुप्ताले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । बुटवल–१९, मोतीपुरका युवा लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । 

२०७९ सालको चुनावमा रुपन्देही–३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८ मत पाएको थियो । यस्तै एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत थियो । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा जितेको राप्रपाले भने समानुपातिकमा जम्मा नौ हजार १८३ मत पाएको थियो । रुपन्देही–३ मा एक लाख ३९ हजार ७६४ मतदाता छन् ।