• ७ साउन २०८२, बुधबार

रेबिजविरुद्धको खोप अभाव

blog

पश्चिम नेपालकै ठुलो नेपालगन्जस्थित भेरी अस्पताल । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन ७ गते । बाँके, बर्दियालगायत यस क्षेत्रका दुई प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बिरामीलाई निःशुल्क रूपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ गत दुई महिनादेखि अस्पतालमा नहुँदा विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई ठुलो समस्या परेको बताउनुभयो । 

उहाँले अस्पतालमा जेठ महिनादेखि नै खोपको मौज्दात सकिएकाले सेवा दिन नसकिएको जनाउँदै दैनिक अस्पतालमा सो खोप लगाउन आउने करिब ५० जनाजतिको हाराहारीका बिरामीले आफैँ किनेर खोप लगाउनु परेको बताउनुभयो । त्यसबाट विपन्न र आर्थिक अवस्था कमजोर भएकालाई समस्या भएको अस्पताल प्रमुख डा. सुवेदीको भनाइ छ । भेरी अस्पतालका अनुसार कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई भेरी अस्पतालले आफैँ उपलब्ध गराउने भन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकता अनुसार वितरण मात्र गर्दै आएको छ ।

हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात माग अनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिएको 

जनाइएको छ । भेरी अस्पतालमा दैनिक ४० देखि ५० डोज खोप खपत हुने गरेको डा. सुवेदीले बताउनुभयो । उहाँका अनुसार अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने गरिएको छ । 

उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा खोप तत्काल पठाउनुपर्ने स्थानीयको माग छ । तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन स्थानीय सरकारले पनि आग्रह गर्दै आएको छ । 

खोपको अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले आफैँ खोप खरिद गरेर समस्या टार्ने तयारीसमेत गरेको थियो । निःशुल्क पाइने सो खोप स्थानीय सरकारले खरिद गरेर अस्पताललाई दिँदा नीतिगत तथा कानुनी समस्या खेप्नुपर्ने अवस्था आउन सक्ने देखिएपछि उपमहानगरपालिका पनि खोप खरिद गर्नबाट पछि हटेको जनाइएको छ ।