• ७ साउन २०८२, बुधबार

जलवायु परिवर्तनको असर कम गर्न युवा परिचालन आवश्यक छ

blog

काठमाडौँ, ७ साउन । जलवायु परिवर्तनको असर कम गर्न युवालाई बढीभन्दा बढी परिचालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिल नेपालको सहयोगमा काठमाडौँमा आयोजना गरेको ‘विपद्‍मैत्री तथा जलवायु उत्तरदायी शासनमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चितता तथा प्रवर्द्धन’ विषयक नीतिगत संवादमा बोल्दै उनीहरूले त्यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले जलवायु परिवर्तन युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, आदिवासी जनजातिलाई बढी असर पारेको बताउनुभयो ।

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डिरेक्टर रुष्टम मोदीले युवाहरूका लागि जेसिवाइसिएनसँग मिलेर काम गर्न पाउदा खुशी लागेको बताउदै यस्ता कार्यले निरन्तरता पाउने बताउनुभयो।युवाले गरेका यस्ता कार्यक्रमबाट आएका सवाल संघीय सरकारका निति तथा कानुनमा आउने उहाँको विश्वास छ ।

यसैगरी जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जलवायु शासनलाई कायम गर्न नसक्दाको परिणाम भावी पुस्ताले बोक्नुपर्ने भन्दै युवा र जलवायु शासन युवा र वातावरण मैत्री शासन प्रवर्धन गर्न युवामा लगानी गर्नुपर्ने बताउनुभएको छ।

यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले जलवायु परिवर्तनले धेरै प्रभाव पारेको बताउनुभयो । कार्यक्रममा जलवायु विज्ञ उपसचिव डा. इन्दिरा कँडेलले जलवायु परिवर्तन जल्दोबल्दो विषय भएको भन्दै यसले सबैलाई समस्या उत्पन्न गराएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामैत्री शासन, वातावरणमैत्री शासन प्रवर्द्धन गर्न र युवामा लगानी बढाउन संसदीय समितिको महत्वपूर्ण भूमिकाको अपेक्षा राख्नुभयो ।

सांसद् रञ्जु झाले युवालाई नीति कार्यक्रममा सहभागीता गराउनुपर्ने बताउनुभयो । सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले युवा र जलवायु शासनको सन्दर्भमा पालिकाले गम्भीरताका साथ काम गर्दै आएको उल्लेख गर्नुभयो।यसैगरी कार्यक्रममा अमृत देवकोटाले जलवायु शासन र यसले पारेको प्रभाव र युवाको लागि सरोकारवालाले गर्नुपर्ने विषयमा प्रस्तुतिकरण गर्नुभयो ।